काठमाडौ,१ माघ ।
नेपाली कांग्रेस गगन विश्व समुहले कांग्रेस विभाजित भएको नभई विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको दाबी गरेको छ ।
विशेष महाधिवेशनपछि कांग्रेसको आधिकारिकतालाई लिएर दुवै पक्ष कानुनी लडाइँमा जाने तयारीमा छन् । सोहीअनुसार विशेष महाधिवेशन गरेको गगन थापा र विश्वप्रकाश समूहले आफूहरूले नयाँ पदाधिकारी चयन गरेको दाबी सहित निर्वाचन आयोगमा कागजात पेस गर्दैछ ।
विशेष महाधिवेशनले बुधबार राति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो, जसलाई शेरबहादुर देउवा पक्षधरले मान्यता दिएको छैन ।
अधिवक्ता राजु कटवालका अनुसार, अहिले बसिरहेको नयाँ कार्यसमितिको बैठकले निर्वाचन आयोगमा दलका पदाधिकारीहरुको विवरण र विधानका केही संशोधित प्रावधान अद्यावधिक गर्नेछ ।
सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएकाले अधिलेख अद्यावधिक गर्न आयोगमा जान लागेको अधिवक्ता कटवालले बताए ।
निर्वाचन आयोग ऐनको दफा ५१ अनुसार, दलको नाम, चिन्ह, विधान वा पदाधिकारी हेरफेर भएमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी दिएर अभिलेख अद्यावधिक गर्नुपर्छ ।
गगन–विश्व समूहले कार्यसमिति बैठकबाट आफूहरुले विशेष महाधिवेशन गरेको गरेको र त्यसबाट नेतृत्व र पदाधिकारी परिवर्तन भएको भनी आयोगमा अभिलेख अद्यावधिक गरिदिन अनुरोध गर्नेछ । आयोगमा बुधबार नै पत्र पठाएर देउवा समूहले नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको भनी दाबी गरेको छ ।
नेपाली कांग्रेसको विधानको धारा १७ मा केन्द्रीय महाधिवेशनको व्यवस्था छ । जसअनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुने परिकल्पना छ । त्यसबाहेक विशेष केन्द्रीय महाधिवेशनको परिकल्पना छ ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउनसक्छ । त्यसबाहेक ४० प्रतिशत सदस्यहरुले विशेष महाधिवेशन बोलाउनसक्ने अर्को बैकल्पिक व्यवस्था छ । अहिले आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन डाकेको र सर्वसम्मतीबाट निर्णय भएको गगन–विश्व समूहको दावी हो ।








