काभ्रेपलान्चोक,३० पुस ।
नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । ४ जना पक्राउ परेकाे र थप जानकारी प्राप्त नभएको एसपी लालध्वज सुवेदीले बताए ।
मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच/ छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।
लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








