नवलपरासी,२८ पुस ।
आगामी संसदीय निर्वाचन बहिष्कारकाे घाेषणा गरेको संयुक्त संर्घष समिति नवलपरासीले जिल्लाको तीन स्थानमा सोमवार मशाल जुलु्स निकालेको छ ।

जिल्लाको सुनवल,बर्दघाट र रुपौलियाचोकमा मशाल जुलुस सम्पन्न भएको संयुक्त संघर्ष समितिका संयोजक समेत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए ।

यसअघि स्वाधीन संयुक्त जनसरकारको गठन र जनसंबिधानको निम्ति जनसंर्घष संचालन गर्ने भन्दै जिल्लामा संयुक्त संर्घष समिति गठन गरिएको थियो । समितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(बहुमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(जनपक्ष) र नेकपा समाबेश छन् ।

बर्दघाटको बसपार्कमा आयोजित कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको अगुवाई, क्रान्तिकारी संयुक्त मोर्चा नवलपरासीका संयोजक चुडामणी भण्डारी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य गणेश बहादुर ढकाल र नगर संयोजक ज्ञान बहादुर केसी लगायतको नेतृत्वमा जुलुस प्रर्दशन भएको थियो ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख एंव प्रहरी निरीक्षक कृष्ण डागीको कमाण्डमा खटिएको टोलीले हस्तक्षेप गरेपछि प्रर्दशनकारीले प्रहरी दमन मुर्दावाद जस्ता चर्का नाराबाजी गरेका थिए ।
बर्दघाटको त्रिवेणीचोकको उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले सम्बोधन गर्दै निर्वाचनको औचित्य नभएको बताए ।

त्यस्तै संयुक्त संर्घष समिति नवलपरासीले सुनवल चोकमा आयोजना गरेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सो क्रममा ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख एंव प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रर्दशनकारी माथि हस्तक्षेप गर्दै मशाल खोसेपछि केही समय तनाव उत्पन्न भएको थियो ।

सुनवलको प्रर्दशनको अगुवाई समितिका संयोजक रवि पाण्डेय, सकपा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक छम बहादुर गुरुङ र क्राकपा नेपालका नगर संयोजक प्रेम रिमालको नेतृत्वमा भएको थियो ।

कोण सभामा क्राकपा नेपालका नेता प्रेम रिमालले सम्बोधन गरेको क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेले जानकारी गराए ।

यसैबीच सुस्ता गाउँपालिका–१ रुपौलियामा मशाल जुलुस पछिको कोणसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला कार्यालय सदस्य दुर्गानारायण चौधरीले सम्बोधन गर्दै वर्तमान सरकार बिघटन र स्वाधीन संयुक्त सरकार गठनको माग गरेको पार्टीका सुस्ता संयोजक सोम बहादुर विश्वकर्माले जानकारी दिए । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत माघ २ गते बुटवलमा निर्वाचनको औचित्यहीनता बारे अन्तरक्रिया र माघ ५ गते जिल्लाब्यापी बिरोध कार्यक्रम सम्पन्न पछि दोस्रो चरणको कार्यक्रम तय गर्ने संयुक्त संर्घष समिति नवलपरासीले जनाएको छ ।

समितिले जेनजी बिद्रोह पछि जेनजीको भावना माथि कुठाराघात गर्दै बैदेशिक शक्ति केन्द्रको आड भरोशामा सुशिला कार्की नेतृत्वको कठपुतली सरकार बनेको भन्दै बर्तमान सरकार खारेज गरेर संयुक्त जनसरकार गठन गर्न माग गर्दै उपत्यका बन्दको पूर्व सन्ध्यामा देशैभर मशाल जुलुस निकालेको संयोजक पाण्डेयले जानकारी दिए ।

प्रहरी हस्तक्षेपको बाबजुद जिल्लाको तीन स्थानमा जुलुस गरिएको समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक छम बहादुर गुरुङले बताए ।