नवलपरासी,२७ पुस ।
नवलपरासीमा क्रियाशील ६ राजनीतिक दलले संसदीय निर्वाचन बहिष्कारका लागि जिल्लास्तरीय संयुक्त संर्घष समिति गठन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

ती पार्टीहरुले फागुन २१ गते गर्ने भनिएको निर्वाचनलाई बिदेशी ईशारामा नयाँ दलाल उत्पादन गर्न साम्राज्यवादले प्रायोजन गरेको निर्वाचनको संज्ञा दिदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।

शनिवार छ दलीय मोर्चामा आबद्ध तीनवटा पार्टीका जिल्ला नेतृत्वहरुले एक प्रेस बक्तब्य जारी गर्दै स्वाधीन संयुक्त जनसरकारको गठन र जनसंबिधानको निम्ति संर्घष संचालन गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयको संयोजकत्वमा तीन सदस्सीय संयुक्त संर्घष समिति नवलपरासी गठन गरिएको जनाएका छन् ।

नवगठित संयुक्त संर्घष समितिमा हाल तीनवटा पार्टीका जिल्ला नेतृत्व सम्मिलित रहेको र आन्दोलनको आवश्यकता र घटक दलहरुको सहमतिमा संर्घष समिति विस्तार समेत हुन सक्ने संयोजक पाण्डेयले जानकारी दिए ।

उक्त मोर्चामा क्राकपा नेपाल ,नेकपा(बहुमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(जनपक्ष) र नेकपा सहभागी छन् ।

तीन दलका जिल्ला नेतृत्वले जारी गरेको संयुक्त प्रेस बक्तब्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको तर्फबाट युवा नेता समेत रहेका जिल्ला सेक्रेटरी रवि पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज मणि र समाजवादी कम्युनिष्ट पार्टी नेपालको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक छम बहादुर गुरुङले हस्ताक्षर छ ।

उक्त संयुक्त बक्तब्यमा पौष २७ गते पर्चा वितरण तथा प्रचार प्रसार, पौष २८ गते पालिकास्तरको मशाल जुलुस , माघ २ गते अन्तरक्रियामा सहभागी हुने र माघ ५ गते जिल्लाब्यापी बिरोध प्रर्दशन लगायतका आन्दोलनका कार्यक्रम समाबेश छन् । पहिलो चरणका कार्यक्रम सकेर थप कार्यक्रम सार्वजनिक गर्ने संयुक्त संर्घष समिति नवलपरासीले जनाएको छ ।

यस अघि सीपी गजुरेलको नेतृत्वका ६ दलको केन्द्रीय संर्घष समिति गठन भएको थियो । संयुक्त संर्घष समिति गठन भएसंगै संसदीय ब्यवस्थाका बिरोधी गैर संसदीय कम्युनिष्ट पार्टीहरु एक आपसमा नजिकिएको जानकारहरु बताउछन् ।