काठमाडौं,२७ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको भावी राष्ट्रपतिको रूपमा देव कुमार लामा (डिके बुध्दिष्ट) को नाम प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राजधानी काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले स्वच्छ छवियुक्त,राष्ट्रिय राजनीतिका एक जुझारु एवं इमान्दार व्यक्तित्व देव कुमार लामा (डिके बुध्दिष्ट) लाई भावी राष्ट्रपतिको रूपमा अगाडि सार्ने निर्णय गरेको हो ।
मूलुकको आमूल परिवर्तनको आन्दोलनको समयमा अग्रगामी लाेकतान्त्रिक शक्तिहरुलाई गोलवन्द गर्ने तथा संविधानमा नेपालका उत्पीडित तथा पहिचान सहितको संघीयता लगायतका मुद्दालाई मुखरित गर्ने आन्दोलनमा उनलेे ऐतिहासिक नेतृत्व गरेकाे पार्टीका महासचिव टाेप अस्लामी मगरले जानकारी दिए ।
विगतमा संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका बुद्धिष्ट विगत १२ वर्ष देखि राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्व तहमा रहदै आएका थिए । हाल राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ नेता रहेका डिके बुध्दिष्ट पेशाले अवकाश प्राप्त पाइलट हुन् ।
राजनैतिक रूपमा ईमान्दार र अनुभवी व्यक्तित्व बुद्धिष्टले संविधान सभाले नेपालको विशिष्टतालाई उचित रुपमा सम्बोधन गरेको संविधान जारी गर्नु पर्छ भन्ने मुद्दा सहित तत्कालिन समयमा भएको आन्दोलनको नेतृत्व गरेका बेला तत्कालिन सरकारका प्रतिनिधि, शान्ति मन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति) संग ऐतिहासिक सम्झौता गरेको उनिसँग अनुभव रहेको छ । यद्यपि सरकारमा रहनेहरुले त्यसको इमान्दार कार्यान्वयन नगरेको उनको गुनासो छ ।
यही पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय बैठकले आगामी निर्वाचनको सन्दर्भमा महत्वपुर्ण निर्णय गर्ने क्रममा उनलाई भावी राष्ट्रपतिको रूपमा अगाडि सार्ने ऐतिहासिक निर्णय गरेको हो ।








