नवलपरासी,२६ पुस ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुनवल नगर संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो कार्यक्रम शुरु गरेको छ । सुशिला कार्की नेतृत्वको कठपुतली सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने ठहर गर्दै चुनाव बहिष्कारको अपिल गर्दै घरदैलो कार्यक्रम सञ्चालन गरिएको पार्टीका नगर संयोजक प्रेम रिमालले जानकारी दिए ।
पार्टी केन्द्र, ब्युरो, जिल्ला र नगरको बैठकले निर्वाचन बहिष्कारको योजना बनाएकोले निर्वाचन बहिष्कारको अपिल गर्दै घरदैलो अभियान संचालन गरेको रिमालको भनाई छ । पार्टीले सुनवल ७ र ८ का केही टोलहरुमा शनिवार घरदैलो गरेको जनाएको छ ।
संसदीय निर्वाचनले श्रमिकवर्गको हित चुनावले गर्न नसक्ने भएकोले निर्वाचन औचित्य नभएको उनले बताए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला सदस्य रवि पुन,नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य चन्द्रमान मानन्धर पार्टीका नगर सदस्यहरु हिमलाल भण्डारी, प्रकाश बास्तोला, क्रान्तिकारी किसान महासंघका गोबिन्द अधिकारी, बिजय चापागाई लगायतले घरदैलोमा सहभागी भएर जनतालाई मत दिन नजान आग्रह गरेका थिए । उनीहरुले पार्टीको झण्डा सहित बहिष्कारको पर्चा समेत लिएर घरघरमा आब्हान गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।








