नवलपरासी,२५ पुस ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुस्ता गाउँ संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो अभियान शुरु गरेको छ ।

सुशिला कार्की नेतृत्वको सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको साे पार्टीले बर्तमान सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने ठहर गर्दै चुनाव बहिष्कारकाे अपिल गर्दै घरदैलो अभियान सञ्चालन गरिएको पार्टीका सुस्ता गाउँ संगठन समिति संयोजक सोम बहादुर विश्वकर्माले जानकारी दिए ।

पार्टी केन्द्र, ब्युरो, जिल्ला समिति र गाउँ संगठन समितिको बैठकले निर्वाचन बहिष्कारको योजना बनाएको र साेही योजना अनुसार निर्वाचन बहिष्कारको अपिल गर्दै घरदैलो अभियान संचालन गरेको विश्वकर्माको भनाई छ । ‘हामीले पटक पटक संसदीय पार्टीका नेताहरुलाई भोट हाल्दै आयौ’–सुस्ता–१ छघरेमा घरदैलोको क्रममा उनले भने– ‘जेनजी बिद्रोह पछि देश झन् संकटमा गयो । राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा काम हुन सकेन ।’

उनलेे मजदुर,किसान र सबै श्रमिकवर्गको हित चुनावले गर्न नसक्ने भएकोले निर्वाचन औचित्य नभएको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला सदस्य महेन्द्र राजभर,कमल हरिजन प्रल्हाद हरिजनलगायतले घरदैलोमा सहभागी भएर जनतालाई मत दिन नजान आग्रह गरेका थिए । उनीहरुले पार्टीको झण्डा सहित बहिष्कारको पर्चा समेत लिएर घरघरमा आब्हान गरेको प्रत्यक्षदर्शीले बताए ।