पाल्पा,२४ पुस ।
नेपाली कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

पार्टीको नीतिगत दिशा, संगठनात्मक संरचना र भावी नेतृत्व निर्माण गर्ने यो ऐतिहासिक विशेष महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र नेतृत्वदायी सहभागिता अत्यन्त आवश्यक रहेको जिल्ला सभापति श्रेष्ठले जनाएका छन् । यद्यपि पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन”मा पाल्पाको गरिमामय उपस्थितिले यस महाधिवेशनलाई अझ अर्थपूर्ण, सशक्त र ऐतिहासिक बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त रहँदै सक्रिय सहभागीताको लागि हार्दिक अपिल गर्दछौं ।

“नितिगत स्पष्टता, युवा सहभागिता र सांगठनिक सुदृढीकरण — हाम्रो संकल्प” भन्दै विज्ञप्तिमा भनिएको छ-“नेपाली कांग्रेसको विधान २०७८,नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को लोकतान्त्रिक मर्म बमोजिम ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागलाई सम्बोधन गर्दै २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन” नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने निर्णायक मोड हो । विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई पुनर्जीवित गर्न पहल गर्ने श्रद्धेय महामन्त्रीद्वय सहित सम्बन्धित केन्द्रीय नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
यो विशेष महाधिवेशन केवल औपचारिक जमघट नभई पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक सुदृढता र जनविश्वासको पुनःस्थापनातर्फ अघि बढाउने ऐतिहासिक अवसर हो । जनतामा बढ्दो राजनीतिक नैराश्यतालाई आशा र विश्वासमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई समयसापेक्ष, युवा-मैत्री र जनमुखी बनाउने संकल्प यस महाधिवेशनको मूल उद्देश्य हो भन्ने हाम्रो बुझाइ छ । सर्वप्रथम गौरवशाली नेपाली कांग्रेस पार्टी भएकाले मात्र पार्टीको विधान बमोजिम पार्टी भित्र विशेष महाधिवेशनको अपिल गर्ने अवसर प्राप्त भएकाले पार्टी फुटाल्ने र फुट्‌ने जोखिम बाट हामी सचेत छौँ, हुनुपर्छ ।”