बुटवल,२४ पुस ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गरेका छन् ।
आयोगका नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार बुटवल स्थित प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त अध्यक्ष बस्यालले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका हुन् । यस्तै नव नियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गरेका छन् ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनियताको सपथ गराएका हुन् । नव नियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।








