बुटवल,२१ पुस ।
बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।
पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले साेमबार अपरान्ह ४ बजेतिर पूर्व-पश्चिम राजमार्गको बुटवल रामनगरस्थित धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
घटनापछि चालक रेसुंगा नगरपालिका–२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
घटना कारको तीव्र गतिका कारण भएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी रानाले बताए ।








