काठमाडौँ,२१ पुस ।
हाल देशभर पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भू-भागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।