बुटवल,१९ पुस ।
नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहंदा देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

उद्योग ब्यापार संघ बुटवलको सातौं वार्षिक साधारण सभामा सहभागि रुपन्देहीका अगुवा व्यवसायीहरुले विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भएपनि अर्थतन्त्रमा परिवर्तन आउन नसकेकाले अब समतामूलक र समाजवादी अर्थतन्त्र व्यवस्था निर्माणमा सरकार र दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समग्र नीजि क्षेत्र फस्टाए मात्र देशको आर्थिक समृद्धि सम्भव हुने बताए । स्थानीय सरकारकाे तर्फबाट लगानीमैत्री वातावरण बनाउन आफुहरूकाे पहल जारी रहेको भन्दै उनलेे के गर्दा नीजि क्षेत्र फस्टाउछ भन्ने बिषयमा सुझाव दिन उद्योगी ब्यवसायीलाई आग्रह गरे ।

देश सरकारहरुको वजेट विकास निर्माणमा भन्दा आलिशान प्रशासनीक भवन निर्माण, महंगा गाडी खरिद, सांसद र मन्त्रीको सेवा सुविधामा बढी मात्रामा खर्च हुने गरेकाले नागरिकमा वितृष्णा फैलिएको भन्दै उनलेे दल र नेताहरु सुध्रिन जरुरी रहेको बताए । प्रदेशको स्थायी राजधानी दाङ कायम गर्दा बुटवललाई आर्थिक राजधानी बनाइने निर्णय भएपनि यसमा कत्तिपनि वजेट नदिइएको र कुनै काम नभएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश सभाले निर्णय गरे अनुसार बुटवललाई आर्थिक राजधानी बनाउन दाउन्नेदेखि चन्द्रौटासम्मलाई समेटेर मेगासिटी बनाउनुपर्ने पाण्डेयले सुझाव दिए । कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले व्यवसायीका हक हितसंगै स्थानीय सरकारसंग सहकार्य गरेर विभिन्न सामाजिक काम पनि गर्दै आएको बताए । उनले बुटवल मण्डपमा पुसमा लाग्ने ब्यापार मेलाका सन्दर्भमा मुख्य चार व्यवसायिक संस्थाबीच देखिएको विवाद आफ्नो कार्यकालमा समाधान भई हरेक वर्ष पालैपालो गर्ने सहमति जुटेको र यसमा बुटवल उपमहानगरले समन्वयकारी भूमिका खेलेको भन्दै धन्यावाद ज्ञापन गरे । उनले संघको सचिवालय भवनका लागि जग्गा व्यवस्थापनमा सहयोग गरिदिन उपमहानगरसंग आग्रह गरे ।

कार्यक्रममा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवल नगर कार्यवाहक सभापति ज्योति भण्डारी, नेपाली कम्युनिष्ट पार्टी बुटवल संयोजक महेन्द्र भुसाल, एमाले नगर उपाध्यक्ष माधव खनाल, रास्वपा नगर सभापति राजन पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारी,नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य गोविन्दराज गैरे, संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलाल मरासिनी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, युवराज पराजुली लगायतले बोल्दै जेन जी विद्रोहपछि खस्केको निजी क्षेत्रको मनोबल माथि उठाउन सरकारले विशेष नीति, योजना र कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले नेपालको कूल बैंकिङ कर्जाको ६० देखि ७० प्रतिशत हिस्सा करिब सयजना ठूला व्यवसायिक घरानामा लगानी हुने गरेको र १८ लाख बढी व्यवसायीमा ३० देखि ४० प्रतिशत मात्र कर्जा लगानी हुने गरेको बताए । कर्जा लगानीको यस्तो परिपाटीले साना तथा मझौला व्यवसायी फस्टाउन र माथि उठ्न नसकेको उनकाे भनाइ छ । ‘सीमित ठूला व्यवसायीक घरानाले बैंकबाट दुई तिहाई हिस्सा कर्जा उपभोग गरेको छ, बांकी १८देखि १९ लाख उद्योगी व्यवसायीले जम्मा ३०देखि ४० प्रतिशत मात्र कर्जा लिने गरेको तथ्यांक छ’–पराजुलीले भने–‘कर्जा लगानीको यो अस्वभाविक असन्तुलन नतोडेसम्म लाखौं साना र मझौला व्यवसायी फस्टाउन सक्दैनन्, अनि समाजवाद उन्मुख अर्थतन्त्र पनि निर्माण गर्न सकिन्न ।’

महासचिव पराजुलीले सरकारको कर र भन्सार नीति पनि साना तथा मझौला व्यवसायीमैत्री नभई ठूला घरानामैत्री भएको गुनासो गरे । स्वदेशमा उत्पादन र खपत हुने सबै वस्तुको यकिन तथ्यांक लिएर अपुग भए मात्र त्यस्ता वस्तु आयात गर्न दिइनुपर्ने र स्वदेशमा उत्पादन हुने वस्तु विदेशबाट आयात गर्दा महंगो भन्सार लगाउनुपर्ने पराजुलीले सरकारलाई सुझाव दिए । ‘सरकारले तथ्यांक विश्लेषण गरेर आयात नीति बनाउन अपरिहार्य छ अन्यथा स्वदेशी साना तथा मझौला उद्योगी व्यवसायी र किसान कहिल्यै फस्टाउन र माथि उठ्न सक्दैनन्’–उनले भने । संविधानले नै स्पष्ट उल्लेख गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सरकार र राजनीतिक दलहरुले ध्यान नदिएको महासचिव पराजुलीकाे गुनासो थियो ।

साधारणसभा तथा अधिवेशनकाे अवसरमा उद्योग ब्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयां र प्रमाणपत्र प्रदान गरिएको हो । यस्तै अग्रज पत्रकारहरु डा. बालकृष्ण चापागाई, दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्रले सम्मान गरिएको छ । यस्तै संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रुपमा सम्मान गरेको छ ।