काठमाडौं,१७ पुस ।
सरकार र राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानबीचकाे वार्ता आइतबार पुनः बस्ने सहमतिमा टुंगिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारी वार्ता टोली र महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीबीच बिहीबार दिनभर भएको वार्ता आइतबार पुनः बस्ने सहमतिमा टुंगिएको हो ।

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईले आइतबारसम्म सरकारसँग सहमति नभए आन्दोलनको घोषणा गर्ने बताए ।

सरकारले आइतबारसम्मको समय मागेकाले आफुहरुले पर्खिने र सहमति नभए आन्दोलनमा जाने उनलेे चेतावनी दिए । प्रसाईले भने-‘मैले गम्भीर रुपमा मुद्धाहरु राखे । हामीले उठाएका मुद्धा जनता मुद्धा हुन् भनेर राखे । उहाँहरुले आइतबारसम्मको समय दिनुस् । आइतबार बसेर दुई पक्ष बसेर हस्ताक्षर गरौँ र सोमबारको क्याबिनेटबाट निर्णय गर्छौं भन्नु भएको छ ।’

एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने भन्दै प्रसाईले आफुहरुका माग ठुला नभएको उल्लेख गरे । आफुहरुले जनताको घर लिलाम नगर, जग्गा लिलाम नगर, सुकम्बासी नबनाउन, ऋण तिर्ने मौका देउ भन्ने माग गरेको बताए ।

प्रधानमन्त्रीसँग आफ्ना माग पुरा नभए गाउँबाट जग्गा लिलामी गरिदिने लघुवित्त र बैंक लखेट्ने बताएको प्रसाईंले जानकारी गराए ।