बुटवल,१६ पुस ।
गत पुस ३ गते घर नजिकैको नालीमा मृत अवस्थामा भेटिएका ईशान शर्माको सडक दुर्घटनामा मृत्यु भएको नभई सुनियोजित रुपमा हत्या गरिएको उनका परिवारले दाबी गरेका छन् ।
मंगलबार आफ्नै घरमा पत्रकारहरुसँग कुरा गर्दै मृतकका बुवा अर्जुन शर्माले आफ्नो छोरा ईशानकाे दुर्घटनामा मृत्यु नभई सुनियोजित रुपमा हत्या गरिएको दावी गरेका हुन् ।
छोरा ईशानको न्यायका लागि कलम मार्फत आवाज उठाइदिन आग्रह गर्दै शर्माले वास्तविक दोषीलाई उन्मुक्ती दिन नक्कली दोषी करार गरेर घटनालाई अन्यत्र मोड्न खोजेकोप्रति प्रहरी प्रशासन प्रति खेद व्यक्त गरे ।
आफु पनि सवारी चालक भएको र सवारी साधनको कुन गतिमा कस्तो दुर्घटना हुन्छ भन्ने कुराको सामान्य ज्ञान भएकाे भन्दै उनलेे आफ्नो छोराको कुनै गाडीको दुर्घटनाबाट मृत्यु नभई सुनियोजित रुपमा पूर्व तयारीका साथ हत्या गरिएको दाबी गरे । यसमा हेभि प्रोफाइलका व्यक्तीहरुको समेत संलग्न भएको हुन सक्ने उनको आशंका छ । सामान्य व्यक्तीले समेत पत्याउन नसक्ने घटनालाई सडक दुर्घटनाको नाम दिएर वास्तविक दोषीलाई छुट दिने हिम्मत कसलाई आउँछ ? भन्ने प्रश्न गर्दै शर्माले भने-“गाडीको ठक्करबाट मृत्यु भएको भए आँखाको नानी कसरी फुट्यो ?, मृतकको शरीरभरी निलडाम छ, खुट्टा भाँचिएको छ, घटनास्थलमा दुर्घटनाको कुनैपनि संकेत छैनन्, थपक्क राखेजस्तै बेलौतीको फेंदमा कसरी मोवाईल भेटियो ?।”
ईशानका ठूलो बुवा पुष्पराज शर्माले भतिज इशानको कुनै पनि हालतमा गाडी दुर्घटनाबाट नभई हत्या नै भएको दावी गरे ।
इशानका साथी निश्चल भट्टराईले घटनाको प्रकृति अनुसार ईशानको हत्या नै भएको दावी गर्दै प्रहरीले पोस्टमार्टमको रिपोर्ट परिवारलाई दिन ढिलाई गर्नुको कारण बुझन नसकिएको बताए ।
इशानका आफन्त, छिमेकी र स्थानीयहरुले समेत ईशानको हत्या नै भएको र हत्यारालाई छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
गत पुस २ गते सांझ देखि घर परिवारबाट सम्पर्क विहीन भएका ईशानको अर्को दिन पुस ३ गते सांझ टाउकोको पछाडी गम्भिर चोट सहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए । त्यस पछि कञ्चनको शान्ति सुरक्षामाथी प्रश्न उठ्दै आइरहेको छ । घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरि दाेषीलाई कानुनी कारबाहीको माग गर्दै पिडित परिवार, आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना सहित घेराउ गरेका थिए ।








