बुटवल,१५ पुस ।
प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा बुटवलमा च्याउ मेला तथा निःशुल्क परिकार महोत्सव सम्पन्न भएको छ ।

च्याउ उत्पादक किसान संघ रुपन्देही र लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबार बुटवलमा प्रथम राष्ट्रिय च्याउ दिवस तथा च्याउ महाेत्सव आयोजना गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताइन् । कृषिबाटै देशको समृद्धि सम्भव हुने भन्दै उनले उपमहानगरले नीति कार्यक्रममै किसान लक्षित कार्यक्रम समावेश गरेको बताइन् । पछिल्लो समय छिटो उत्पादन गरी लाभ लिने उद्देश्यले तरकारी तथा फलफूलमा मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विषदीको प्रयोग बढिरहेको भन्दै उनले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर आफ्ना उत्पादन बजारमा लैजानुपर्ने बताइन् । साथै उनले मानिसलाई चाहिने पौष्टिक तत्वले भरिपूर्ण च्याउका परिकार खाने बानी बसाल्न आग्रह गर्दै उपमहानगरले च्याउ उत्पादक किसानका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत उमाशंकर पौडेलले च्याउको व्यवसायिक उत्पादमा जोड दिई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राखे । उनले नेपालमा प्राचीन कालदेखि नै जंगली च्याउ खोजेर खाने चलन रहेपनि पछिल्लो समय कृतिम च्याउ उत्पादन र बजारीकरण हुन थालेपछि यूवालाई स्वदेशमै राजगारीको वातावरण सिर्जना भएको बताए ।

संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज कृष्णराज पोखरेलले राज्यले बजार व्यवस्थापन गर्न नसक्दा यहाँ उत्पादन भएको च्याउले राम्रो मुल्य पाउन नसकेको बताए । लामो संघर्षपछि सरकारले पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरेको भन्दै उनले उचित मूल्य र समस्या समाधान गर्न च्याउको व्यवसायीक उत्पादनमा लागेका किसान एकजुट हुनुपर्ने बताए ।

संघका केन्द्रीय सदस्य तथा च्याउ अभियान्ता केशव कार्कीले च्याउ दिवस मनाउने सरकारको निर्णयले राज्यले किसानलाई अलिकति सम्मान गर्न थालेको अनुभुति भएको बताए ।
जबसम्म किसानको सम्मान हुँदैन तबसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै अभियान्ता कार्कीले आफुहरूकाे निरन्तरकाे क्रियाशीलताकै कारण राज्यले आजकाे दिनलाई च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे ।

यस्तै संघका लुम्बिनी प्रदेश अध्यक्ष राजन पौडेलले च्याउलाई सामान्य तरकारीका रुपमा मात्रै नभएर अन्य विभिन्न परिकारका रुपमा प्रयोग गर्ने बानीको विकास गर्न जरुरी रहेको बताए । आगामी दिनमा च्याउको उत्पादनसँगै यसका परिकारको ब्राण्डिङ र प्रचारप्रसारमा समेत काम गर्ने उनले बताए ।

संघका निर्वतमान अध्यक्ष रिषभ पोखरेल, संघका रुपन्देही जिल्ला अध्यक्ष नवीन खत्री, पाल्पा जिल्ला अध्यक्ष उमनाथ घिमिरे, गुल्मी संयोजक कृष्ण कंडेललगायतले आआफ्नो भनाइ राख्दै व्यवसायिक च्याउ खेतीमा लागेका किसानलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपालमा हाल करिब ४० हजार किसान च्याउखेतीमा आबद्ध रहेको संघको तथ्यांक छ । संघका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । यस्तै वार्षिक १५ अर्ब बराबरको च्याउको कारोबार हुने गरेको छ । च्याउ खेतीमा लाग्न किसानलाई उत्प्रेरणा प्रदान गर्न च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुसमा मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।