बुटवल,१४ पुस ।
बुटवलमा सर्वाधिक राशिको रुपन्देही जिल्ला स्तरीय खुल्ला स्नुकर प्रतियोगिता सुरु भएको छ । नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा नवौं संस्करणको रुपन्देही जिल्ला स्तरीय खुल्ला स्नुकर प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य र खेलकुदलाई बुटवलले पहिलो प्राथमिकतामा राखेको बताए । संघको मिहेनत र लामो संघर्षले रुपन्देहीमा स्नुकर खेलले फड्को मार्न सफल भएको उनले बताए । यहाँबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अब्बल खेलाडी उत्पादन भइसकेको बताउँदै नगर प्रमुख पाण्डेयले उपमहानगर भित्र स्नुकर खेलका लागि संरचना निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्वता ब्यक्त गरे । शिक्षा र स्वास्थ्यका साथै खेलकुदका माध्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे विकासका लागि यसवर्ष ४ करोड बजेट बिनियोजन गरिएको जानकारी गराए ।
खेलकुदका माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिने भन्दै उनले विद्यालय स्तरमा सबैभन्दा खेलकुद प्रतियोगिता बुटवलमै हुने गरेको दाबी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले यस्ता प्रतियोगिताहरुले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्लने बताए । स्नुकर खेल अन्तर्राष्ट्रिय स्तरमा निकै प्रतिष्ठित भएपनि नेपालमा अझैपनि स्नुकर खेललाई समाजले हेर्ने नजर नकारात्मक रहेको भन्दै उनले यसलाई चिर्न युवाहरु एकजुट हुनुपर्ने धारणा राखे ।
संघका अध्यक्ष सुजन पुनले खेल क्षेत्रमा सक्रिय सबैको साथ सहयोग र सामुहिक प्रयासले स्नुकर खेललाई यो स्थानमा पु¥याउन सफल भएको बताए । खेलकुद क्षेत्रको विकास, प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्तवपूर्ण रहको उनको भनाइ थियो ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले नगद ५० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव प्रकाश क्षेत्रीले बताए । यसैगरी उच्च ब्रेकरलाई नगद २० हजार रुपैयाँ तथा राइजिङ प्लेयर र अनुशासित खेलाडीलाई नगद ५/५ हजार र स्टीक प्रदान गरिने उनले बताए ।
कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, कांग्रस बुटवल नगर उपसभापनि ज्योति भण्डारी, पत्रकार विश्वास ढकाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, संघका बरिष्ठ सल्लाहकार सञ्जयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष बासु प्रधान,खेल संयोजक विजय गुरुङ, मुक्ती पौडेललगायतले रूपन्देही स्नुकर खेलको हबको रूपमा विकास भएको बताए ।
पुस २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रूपन्देही जिल्लाका १२८ जना खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
संघको आयोजनामा प्रत्येक वर्ष रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुँदै आएको छ । गतवर्ष बुटवलमा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगितासमेत सम्पन्न भएको थियो ।








