काठमाडौं,१४ पुस ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको प्रदर्शनमा सुरक्षा निकायलाई बल प्रयोग गर्न आदेश नदिएकाे दाबी गरेका छन् ।

गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष बयान दिँदै तत्कालीन गृहमन्त्री लेखकले गत भदौ २३ गते भएको प्रदर्शनमा सुरक्षा निकायलाई बल प्रयोग गर्न आदेश नदिएकाे दाबी गरेका हुन् । आयोगका पदाधिकारीहरूले सोधेका प्रश्नको मौखिक र लिखित जवाफ दिँदै उनले भदौ २४ काे घटना नियाेजित भएको दाबीसमेत गरेका छन् ।

आयोगको सचिवालयमार्फत उपलब्ध गराइएको लिखित बयानमा लेखकले प्रदर्शनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन् । गृहमन्त्रीको हैसियतले आफूले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा निकायका अधिकारीहरूमै निहित रहने उनको भनाइ छ ।

लेखकले भदौ २२ गते बसेको सुरक्षा समितिको बैठकमा ‘कुनै पनि हालतमा मानवीय क्षति हुन नदिनु’ भन्दै उच्च संयमता अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन् । तर ‘जेनजी’ आन्दोलनको नाममा लोकतन्त्रविरोधी तत्त्वहरू घुसपैठ गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक दिशातर्फ मोडिएको उनको दाबी छ ।

उनका अनुसार गोली चलाउने, लाठीचार्ज गर्ने वा अन्य बल प्रयोग गर्ने निर्णय सुरक्षाकर्मीहरूले तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा गरेको हुन सक्छ, तर त्यसका लागि आफूबाट कुनै प्रत्यक्ष आदेश नदिइएको स्पष्ट गरिएको छ ।

राज्यका प्रमुख अङ्गहरूमाथि आक्रमण हुनु लोकतन्त्र कमजोर पार्ने उद्देश्यले गरिएको सुनियोजित षड्यन्त्र भएको लेखकको आरोप छ । घटनाका क्रममा केही युवाहरूको ज्यान गएको विषयले आफू गहिरो रूपमा मर्माहत भएको उल्लेख गर्दै उनले नैतिक जिम्मेवारी स्वीकार गरी तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको पनि स्मरण गराएका छन् ।