बुटवल,१४ पुस ।
स्वदेशी उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको यस क्षेत्रका उद्योगी ब्यवसायीहरूले बताएका छन् । नीतिगत अस्थिरता र फितलो कार्यान्वयन समृद्धिकाे मुख्य बाधक रहेको उनिहरूकाे निश्कर्ष छ ।
१६ औं औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा रुपन्देही उद्योग संघद्वारा सोमबार बुटवलमा आयोजित ´समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी ब्यवसायीहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले नेपालको वर्तमान अर्थतन्त्र राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासनिक संरचना र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् ।
अर्थविद डा. केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो, भित्र कमजोर रहेको बताए । नेपालको अर्थतन्त्रलाई ‘कस्तुरीको नाभीजस्तै’भएको भन्दै अर्थविद् आचार्यले बाहिर सूचक राम्रो देखिए पनि भित्री अर्थतन्त्र कमजोर बनेको विषयमा सरोकारवालाको ध्यान जानुपर्नेमा जाेड दिए । उनका अनुसार केही वर्ष आयात–निर्यात सामान्य देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर अवस्थामा छ । “राजनीतिक अस्थिरताले सधैं आर्थिक वृद्धिदरमा असर गरेको इतिहास छ, जेन–जी आन्दोलनपछि त्यो अझ बढ्यो,” उनले भने “उद्यमशीलतालाई सम्मान गर्ने संस्कार नै विकास भएन, आन्दोलन हुँदा निजी क्षेत्रमाथि आक्रमण किन हुन्छ भन्ने प्रश्नमा राज्य गम्भीर हुनुपर्छ ।” डा. आचार्यले जलविद्युत्, उद्योग र उत्पादनमूलक क्षेत्रमा निजी क्षेत्रको आशा हुँदाहुँदै पनि दलनिकट हस्तक्षेपका कारण धेरै उद्यमी हतोत्साहित भएको बताए । “हिजो निर्यात गरिरहेका उद्योग किन धराशायी भए भन्ने विषयमा गहिरो आत्मसमीक्षा गर्नुपर्छ,” उनले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल खस्किएको बताउदै उद्योग र निजी क्षेत्रको मनोबल खस्किनु गम्भीर विषय भएको धारणा राखे । उनले भने “निजी क्षेत्रलाई हेर्ने समग्र समाजको दृष्टिकोण नै सकारात्मक छैन, राजनीतिक अस्थिरता बढ्दा मुख्य दोषी निजी क्षेत्रजस्तो व्यवहार गरिन्छ ।” ब्याजदर घटे पनि कर्जा माग नबढ्नुको कारण माग नै कमजोर भएको उनको भनाइ थियो । “स्वदेशी उत्पादन प्रवद्र्धनकै लागि प्रदर्शनी गरिएको हो, ‘मेड इन नेपाल’ अभियानलाई अब प्रभावकारी बनाउँदै लैजानुपर्छ,” उनले भने ।
राष्ट्र बैंककी कामु गभर्नर डा. निलम ढंगानाले कार्यक्रमको नारालाई अर्थपूर्ण र समय सान्दर्भिक भएको बताउँदै राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वाभाविक भएको उल्लेख बताइन् । उनले भनिन् “परिसूचक राम्रा छन्, विदेशी विनिमय सन्तुलन ठीक छ, मुद्रास्फीति भारतभन्दा कम छ, तर राजस्व र खर्च उत्साहजनक छैन ।” ब्याजदर न्यूनतम भए पनि बैंकमा रकम थुप्रिएको र कर्जा माग नआएको अवस्था रहेको उहाँको भनाइ थियो। डा. ढंगानाले नकारात्मक पक्ष मात्रै चर्चामा आएको र राम्रा पक्ष ओझेलमा परेको बताए । “पर्यटन राम्रै छ, वैदेशिक रोजगारीले रेमिट्यान्स टिकाएको छ, जलविद्युत् उत्पादन बढ्दैछ, तर यी दीर्घकालीन समाधान होइनन्,” उनले स्पष्ट पारे । उनका अनुसार बजेटभन्दा बढी अर्थनीतिमा सुधार आवश्यक छ ।
“आर्थिक इकोसिस्टम सुधार, उद्योग र कृषि उपजको संरक्षण, सीमित वस्तुमा लक्षित संरक्षण नीति, धार्मिक पर्यटन ब्राण्डिङ र डिमाण्ड क्रियसन अहिलेको आवश्यकता हो,” उनले भने ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित प्राथमिक योजना बनाएको बताए । “कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको छ,” उनले भने “तर प्रदेशको दायरा सीमित छ, केन्द्र सरकारमा निर्भरता बढी छ ।”
उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अनुसन्धानमूलक कार्यक्रम अघि बढाउनुपर्ने र संघीय संरचनाप्रति रहेको वितृष्णा कम गर्नुपर्नेमा जोड दिए ।
अन्तरसंवादमा सहभागीले नीतिसँगै भएका नीतिको कार्यान्वयन पक्ष पनि कमजोर रहेको जनाए ।
बुटवल छाडेर पाल्पामा गएर उद्यम संचालन गरेका समुन्द्र घिमिरेले गाउँ फर्क अभियान, रैथाने उत्पादनको ब्राण्डिङ र धार्मिक पर्यटन पुनर्जीवनको आवश्यकता औंल्याए । उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले स्वदेशी उत्पादन प्रयोगको कठोर नीति नआएकोमा सरकार र उपभोक्ता दुवै दोषी रहेको बताए । उद्योगी निश्चल खनालले सरकारी कार्यालयमै स्वदेशी उत्पादनलाई बेवास्ता गरिने व्यवहारप्रति प्रश्न उठाए । उद्यमी मन्जु भुसालले निर्माण व्यवसायीले भुक्तानी र धरौटी रकम नपाएर ठूलो संकट भोगिरहेको बताइन् । नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले सरकार फेरिँदा योजना फेरिने प्रवृत्तिले निजी क्षेत्र हैरान भएको बताए । उद्योगी बालाराम भट्टराईले नीतिगत कमजोरीकै कारण रोजगारी र राजस्व दुवै गुम्ने अवस्था सिर्जना भएको दाबी गरे ।
यो अन्तरसंवादले निराशा होइन, नीति र समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए । कार्यक्रममा सहभागी सबैले स्वदेशी उत्पादन, उद्यमशीलताको सम्मान, स्थिर नीति, अन्तरनिकायगत समन्वय र कार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको विषयमा जोड दिएको महासचिव सुमन बस्यालले जानकारी दिए । यी विषयले स्वदेशी उद्यमशीलताको भविष्यबारे गम्भीर बहसको खाका कोरेको आयोजकको भनाइ छ ।








