काठमाडौ,१३ पुस ।
देशको वर्तमान जटिल अवस्थाको निकासका विषयमा नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी) का शिर्ष नेतृत्वबीच छलफल भएको छ ।

५० औ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस (वीपी) का नेताहरूले नेपाली कांग्रेसका नेताहरु शेर वहादुर देउवा र कार्यवाहक सभापति पूर्ण वहादुर खड्कासंग छलफल गरेको नेपाली कांग्रेस (वीपी) का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले लुम्बिनीपाटी अनलाइनलाई जानकारी दिए ।
पहिलो चरणमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्ण वहादुर खड्कासंग छलफल गरेका नेपाली कांग्रेस (वीपी) का सभापति शुशिलमान शेरचन, महामन्त्रीद्वय देवेन्द्र प्रकाश पौडेल र हेमन्त वहादुर मल्लको टोली आजै नेपाली कांग्रेसका सभापति देउवासँग छलफल गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेस (वीपी) का नेताहरूले नेपाली कांग्रेसका संस्थापक विशेश्वर प्रसाद काेइरालाले अगाडि सारेको राष्ट्रिय मेलमिलापको नीति बारे नेपाली कांग्रेसका सभापति देउवा र कार्यबाहक सभापति पूर्ण बहादुर खड्काकाे ध्यानाकर्षण गराउँदै मुलुकलाई निकास दिन कांग्रेसलेनै अगुवाइ गर्नुपर्नेमा जाेड दिएको महामन्त्री पाैडेलले बताए ।
पछिल्ला राजनीतिक घटनाक्रमले मुलुककाे अवस्था थप संकटमा पर्दै गएको र मुलुककै अस्थित्व संकटमा पर्नसक्नेतर्फ देशकै पुरानो तथा ठूलो लाेकतान्त्रिक पार्टी नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै
उनिहरूले मुलुकमा उत्पन्न संकटको निकासका लागि पहल गर्ने कुरामा कांग्रेसले ढिलाइ गर्न नहुने बताएका थिए ।
संसदको अंक गडितकाे पछाडि नलागी मुलुकको अस्थित्व बचाईराख्न कांग्रेसले अग्रसरता लिनुपर्नेमा जाेड दिदै उनिहरूले त्यसका लागि कांग्रेसले नीतिगत रूपमै पुनःसंरचना गर्न जरुरी रहेको उल्लेख गरे ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरि नयाँ पार्टी हरूबीच एकता र कार्यगत एकताको सहमति जुटाउने कसरतमा रहेका बेला नेपाली कांग्रेसबाटै फुटेको नेपाली कांग्रेस (वीपी) का नेताहरूबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।








