बुटवल,११ पुस ।
अर्घाखाँचीजिल्लाको भूमिकास्थान नगरपालिका वडा नं १० धनचौरमा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।

भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिए ।

मृत्यु हुनेमा चालक रुद्रबहादुर बुढा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १६ जना घाइतेको साेही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले बताए ।