बुटवल,११ पुस ।
अदालतको आदेशको अवज्ञा गर्दैः बुटवल उपमहानगरपालिका वडा नं १७ मा रानिगञ्ज स्थित बुद्ध बिहार बनाउनका लागि छुट्टाइएको सार्वजनिक जग्गामा व्यक्तिले घर निर्माण गरेका छन् ।
बुटवल १७ रानीगञ्जमा बुद्ध बिहार बनाउनका लागि छुट्टाइएको सार्वजनिक जग्गामा व्यक्तिले घर बनाएको भन्दै स्थानीयले बिराेध गरेका छन् ।
स्थानीय तह तथा प्रशासनले तत्काल संरचना नहटाए चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने स्थानीय चेतावनी दिएका छन् ।
बुटवल–१७ रानीगन्जको जनशक्ति टोल विकास संस्थाका दिवाकर पौडेलले समुदायले बुद्ध मन्दिर समेत बनाएर संरक्षण गरी राखेको जग्गा विक्रि गरेको र भवन निर्माण गरेको भन्दै भवन निर्माण रोक्न निषेधाज्ञा माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । त्यस पछि उच्च अदालत तुल्सीपुर बुटवलले २०८२ साउन २० गते विपक्षी धनमाया पुलामी र भूमिसरा सोमैलाई जग्गामा कुनै पनि निर्माणको कार्य नगर्नु भनि आदेश जारी गरेको थियो । तर, उक्त आदेशको अवज्ञा गर्दै धनमाया पुलामी र भूमिसरा सोमैले उक्त जग्गामा घर बनाएका हुन् ।
अदालतले निर्माणका कार्य रोक्न आदेश दिए पनि स्थानीय तह र वडाले चासो नदिएका कारण सार्वजनिक जग्गामा अनधिकृत रूपमा घर निर्माण गरिएको जनशक्ति टोल विकास संस्थाका अध्यक्ष दिवाकर पौडेलले बताए । साथै उक्त जग्गामा वि.स. २०७९ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुद्धको मर्ति राख्नका लागि अनुमति दिएको उनलेे बताए । स्थानीय सरकारले जग्गा संरक्षणमा चासो नदिएको र यसकै कारणले धार्मिक द्धन्द्ध उत्पन्न हुने खतरा समेत रहेको अध्यक्ष पौडेलले बताए ।
यस्तै टोल विकास समितिका सल्लाहकार केशरबहादुर खड्काले सार्वजनिक जग्गाको राज्यका निकायहरुले आफ्नै संरक्षण गर्नु पर्ने भएता आफुहरुले जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको बताए । साथै उनले उक्त जग्गामा आफुले जुनसुकै हालतमा भए पनि बुद्धको मुर्ति राखि छाड्ने बताए ।
बुद्ध विहारका अध्यक्ष पद्मलाल शाक्यले जग्गामा जुन कार्यका लागि जग्गा प्राप्त भएको हो सो अनुसार बुद्ध मुर्ति राख्नु पर्ने बताए । त्यसो नगरिए समस्या उत्पन्न हुने भएकाले सम्बन्धीत निकाय समयमा नै सचेत हुनु पर्नेमा जाेड दिए ।
तत्कालीन मोतिपुर गाउं विकास समितिले २०६८ साल असार ७ गते उक्त स्थानको एक कठ्ठा जग्गामा बुद्ध मन्दिर स्थापना गर्न सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा त्यहांको बुद्धपथमा रहेको जग्गा संरक्षण गरी पर्खाल लगाएर बुद्धको मुर्ति स्थापना गरि लामो समयदेखि संंरक्षण हुंदै आएको थियो । तर जग्गा कारोबार गर्ने केही ब्यक्तिहरूले अनधिकृत रूपमा उक्त जग्गा दुई महिलालाई बेचेको पत्ता लागेपछि जग्गा संरक्षणका लागि स्थानीय दिवाकर जनता अदालत पुगेका थिए । उक्त सार्वजनिक जग्गा एक लाखमा खरिद गरेर २५ लाखमा विक्रि भएको सुन्नमा आएको दिवाकर पौडेलले बताए ।








