बुटवल,१० पुस ।
नक्कली सुुन बैंकमा धितो राखी ठगेको अभियोगमा प्रहरीले नाैं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का आदित्य राना, राजुु राना, तिलोत्तमा-८ बस्ने भूमिसरा सुुनार, चन्द्रबहादुर सुुनार, तिलोत्तमा-६ बस्ने गायत्री पान्डे मगर, विकास थापा, प्रकाश भट्टाराई, तिलोत्तमा ५ का मनीष आचार्य र तिलोत्तमा १४ का अनिल विक रहेका छन् ।
गोर्खा फाइनान्स लिमिटेडकाे रूपन्देहीको पडसरी शाखामा नक्कली सुन धितो राखेर ठगी गरेको अभियोगमा उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
यस्तै अनुुशासन र आचरणविपरीत काम गरेका जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी अनुशासनको कारबाहीमा परेका छन् । यसरी अनुशासनको कारबाहीमा पर्नेमा जिल्लाका विभिन्न प्रहरी एकाइहरुमा जिम्मेवारीमा रहेका प्रहरी अधिकृतदेखि कार्यालय सहयोगीसम्म रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरी अनुशासन र आचरणविरुद्ध काम गर्ने प्रहरीहरु जिल्ला प्रहरी कार्यालयको कारबाहीमा पर्न थालेपछि प्रहरीहरुमा अनुशासनविरुद्ध काम गर्ने कार्यमा नियन्त्रण आएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक क्षेत्रीकाे भनाइ छ । उक्त अभियोगमा प्रहरीले एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगीलाई निलम्बन गरेको छ । साथै दुई जना प्रहरी हवल्दार र एक जना जवानको बढुवा रोक्का गरिएको छ । यसैगरी दुई जना प्रहरी हवल्दार र पाँच जना जवानको तलब वृद्धि घटुुवा भएको छ ।
रुपन्देही प्रहरीमा दुई जना प्रहरी सहायक निरीक्षक, चार जना वरिष्ठ प्रहरी हवल्दार, तीन जना हवल्दार, एक जना सहायक हवल्दार र पाँच जना जवानलाई नसियत दिएको र एकजना प्रहरी निरीक्षक सहित दुई जना प्रहरी सहायक निरीक्षक, तीन जना प्रहरी हवल्दार र पाँच जना प्रहरी सहायक हवल्दारलाई सचेत गराइएको छ । साथै एक जना प्रहरी हवल्दार, एक जना जवान र एक जना कार्यलय सहयोगीलाई सेवाबाट हटाउनेसमेत काम भएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहत इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बेलहिया, सालझण्डी, इलाका प्रहरी कार्यालय लुम्बिनी, मर्चवार जस्ता महत्वपूर्ण प्रहरी एकाइ रहेका छन् । यस्तै भैरहवा, बुटवल जस्ता मुख्य सहरी क्षेत्रमा ‘क’ वर्गका वडा प्रहरी कार्यालय महत्वपूर्ण मानिन्छन् ।








