बुटवल,९ पुस ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज किरण वि.क.ले पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा सक्रिय भएको बताएका छन् ।
बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज वि.क.ले संगठन विस्तारसँगै पार्टी चुनावी अभियानमा सक्रिय भएको बताएका हुन् ।
कुलमान घिसिङ हालसम्म पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पार्दै उनलेे घिसिङ पार्टीको प्रेरणास्रोत भएकोले उनकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने गरेको जानकारी गराए । यही पुस महिना भित्रै रूपन्देहीमा कुलमानकाे विशेष आतिथ्यतामा कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको भन्दै उनलेे चुनावको तयारीसँगै संगठन विस्तारलाई एकसाथ अगाडि बढाइएको बताए ।
उज्यालो नेपाल पार्टीले लुम्बिनी प्रदेशमा संघगठन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाइएको जनाउँदै लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहेका वि.क.ले आफुहरुले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीप्रति नागरिकहरुको अपेक्षा र सुझाव संकलन गरेको उल्लेख गरे ।
पार्टीले रुपन्देहीमा कार्यसमिति गठन गरिसेको र प्रदेशका अन्य जिल्लामा पनि अबको केही दिन भित्रै कार्यसमिति गठन गर्ने तयारी भइरहेको जनाए ।
पार्टीमा आउन चाहनेहरुका लागि मध्यनजर गरेर प्रदेशको कार्यसमितिको गठनमा केही ढिलाई भएको केन्द्रिय सदस्य वि.क. ले बताए ।
उनले पुस भित्रमा उर्जा मन्त्री कुलमान घिसिङको उपस्थितीमा विशाल कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको बताए । साथै उनलेे आफुहरु त्यसका लागि तीब्र रुपमा लागिपरेको बताए ।
रास्वपासँग एकता नभए पनि निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै केन्द्रिय सदस्य विकले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सबै वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा गराएर सोही पार्टीमा आवद्ध हुने तयारीमा रहेको दाबी समेत गरे ।
आफु रुपन्देहीबाटै निर्वाचन लड्ने बताउदै उनले रुपन्देही क्षेत्र नम्बर २, ३ र ५ मध्ये कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेको जानकारी गराए ।








