बुटवल,९ पुस ।
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नेपाल सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

गाैतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित मुटु अस्पतालले
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको रकम प्राप्त नभए निःशुल्क सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारबाट ठूलो रकम भुक्तानी हुन बाँकी रहेकाले अस्पताल गम्भीर आर्थिक संकटमा परेको भन्दै अब पनि रकम भुक्तानी नपाए निःशुल्क उपचार सेवा प्रदान गर्न नसकिने बताए । सरकारबाट नियमित रूपमा पाउनुपर्ने रकम रोकिँदा औषधि तथा उपकरण आपूर्ति, चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानीमा समेत समस्या उत्पन्न भएको उनकाे भनाइ थियो ।

‘स्वस्थ मुटु, हाम्रो अभियान’ भन्ने मूल नारासहित २०७० साल पुस १० गतेदेखि सञ्चालनमा आएको यस अस्पतालले लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका नागरिकलाई सेवा दिँदै आएको छ । १२ वर्षको अवधिमा अस्पतालले मुटु, मिर्गौला र जनरल फिजिसियन सेवा गरी ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको जनाएको छ ।

बुटवलमै मुटु उपचारको सुविधा नहुँदा बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा स्थापना भएको अस्पतालमा २०७३ सालदेखि क्याथ ल्याब सञ्चालनमा आएको हो । क्याथ ल्याबमार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडानलगायत सेवा लिई हालसम्म ६ हजार १६९ जनाले लाभ लिएका छन् ।

यस्तै, २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाअन्तर्गत हालसम्म ३ लाख २३ हजार ७२ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको छ । बढ्दो चापलाई मध्यनजर गर्दै बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको बाणगङ्गामा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको छ भने नवलपरासीको सुनवलमा शीघ्र सञ्चालनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार नेपाल सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्र १ हजार ३८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको छ । यस्तै ५५१ जना मिर्गौला बिरामीलाई १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको निःशुल्क डायलाइसिस सेवा दिइएको छ । यस वर्ष मात्रै मुटु र मिर्गौला उपचारमा १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
तर भुक्तानी प्रक्रिया एक निकायबाट अर्को निकायमा सारिँदा समस्या आएको अस्पतालको गुनासो छ । आर्थिक वर्ष २०७९/८० मा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ हालसम्म नपाएको र चालु आर्थिक वर्षमा पनि २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ पाउन बाँकी रहेको अध्यक्ष आलमले जानकारी दिए ।

यदि पुस मसान्तसम्म सरकारले भुक्तानी नगरे माघ १ गतेदेखि मुटु उपचारमा दिइँदै आएको एक लाख रुपैयाँ बराबरको सहयोग तथा मिर्गौला बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने अस्पतालले चेतावनी दिएको छ । यसबाट बिरामीलाई पर्न जाने असुविधाप्रति अस्पतालले क्षमायाचना गरेको छ ।