काठमाडौँ,८ पुस ।
निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको आयोगकाे बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
बैठकले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली),नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले नबुझाएका कारण दर्ता खारेज गरेकोे हो ।
आजको बैठकले दल दर्ता खारेज गर्ने निर्णय गरिसकेको भए पनि यसबारे भोलि मात्रै जानकारी गराइने प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको, स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।








