बुटवल,७ पुस ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्वबाबा स्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ ।
आयोजनाको वित्तीय प्रगति भने ५६ प्रतिशत रहेको छ । हालसम्म १ हजार १२६ मिटर लम्बाइ सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
त्यस्तै, तीन वटा बाइपास सुरुङ पनि निर्माण भएका छन् । आयोजनाका अनुसार, १५१ मिटर, १६१ मिटर र १३० मिटर लम्बाइका तीन वटा बाइपास सुरुङको निर्माण सकिएको हो ।
सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।
पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाई भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने आयोजनाले जनाएको छ ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुन २५ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम २०८३ चैतभित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्नेछ ।
त्यसपछि कम्पनीले १ हजार ८२५ दिन सुरुङ सञ्चालन एवं मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण गरिएको हो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदमा समेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षा याममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौँसम्म यातायात अवरोध हुने गरेको छ ।
यो समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न थालिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने आकलन गरिएको छ ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उज्यालो नेपाल पार्टीको संगठन विस्तारका क्रममा देश दाैडाहमा रहेका मन्त्री घिसिङले आयोजनाकाे स्थलगत अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषय तत्काल निरूपण गरि निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।
´समयमा साइट उपलब्ध गराउन नसकेको, रूख कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएको लगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ । यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्न निर्देशन दिँदै मन्त्री घिसिङले भने, ‘निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’








