काठमाडौ,७ पुस ।
सर्वोच्च अदालतले सामुदायिक विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नमिल्ने आदेश गरेको छ ।
काभ्रे जिल्लाका विद्यालयहरूले विद्यार्थीसँग शुल्क लिएको विरुद्ध दायर भएको रिटकाे सुनुवाइ गर्दै सर्वोच्च अदालतले सामुदायिक विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नमिल्ने ब्याख्या गरेको हो ।
संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको मौलिक हक कागजमै सीमित बन्दै गएको अवस्थाविरुद्ध सर्वोच्च अदालतले चासो देखाउँदै त्यस्तो नगर्न परमादेश जारी गरेको छ । काभ्रे जिल्लाका सबै पालिका तथा सञ्जीवनी विद्यालयलगायतका विद्यालयहरूलाई विपक्षी बनाई दायर गरिएको रिटमा अदालतले विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिनु ( लिन नलगाउनु भनी परमादेश जारी गरेको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कार्य समिति काभ्रेपलान्चोक, बनेपाको तर्फबाट अख्तियार प्राप्त गर्दै कार्य समितिका निवर्तमान अध्यक्ष मिलन गौतमले उक्त रिट दायर गरेका हुन् ।
लामो समयदेखि विद्यालयहरूले भर्ना, परीक्षा, अतिरिक्त गतिविधिलगायत अनेक शीर्षकमा विद्यार्थी र अभिभावकहरूमाथि आर्थिक बोझ थोपर्दै आएको आरोप रिटमा उल्लेख गरिएको थियो ।
अनेरास्ववियु काभ्रेपलान्चोकले जिल्लाभर कानुन अध्ययनरत विद्यार्थी तथा हालका जिल्ला कमिटीका उपाध्यक्ष आयुष बडाल र सचिव प्रवीण पौडेलको नेतृत्वमा कानुनी सहायता तथा विद्यार्थी अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रमका क्रममा संविधानले निःशुल्क शिक्षा मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारमा विद्यार्थीहरूले सो हक प्राप्त गर्न नसकेको गम्भीर गुनासो व्यापक रूपमा आएको थियो ।
विद्यार्थी तथा अभिभावकहरूबाट निरन्तर रूपमा आएको गुनासो, विद्यालय प्रशासनको बेवास्ता र सम्बन्धित निकायको मौनतापछि विषयलाई न्यायिक ढोकासम्म पुर्याउने निर्णय गरिएको निवेदक पक्षले जनाएको छ ।
मुद्दाको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, वरिष्ठ अधिवक्ता अमर थापा, अधिवक्ता डा. मुकुन्द अधिकारी लगायतका कानुन व्यवसायीहरूले विद्यार्थीको मौलिक हक, शिक्षा ऐन–नियम र संवैधानिक प्रावधानको आधारमा सशक्त बहस प्रस्तुत गरेका थिए।
सो बहसपछि अदालतले विद्यार्थीमाथि हुने कुनै पनि प्रकारको शीर्षकमा शुल्क असुली नगर्नु भन्ने स्पष्ट परमादेश जारी गरेको छ ।






