बुटवल,७ पुस ।
बुटवलमा आजदेखि बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविर सुरु भएको छ ।

शिविरको साेमबार बुटवल उपमहानगरपालिका वडा नं स्थित पराेपकार भवन परिसरमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित धेरै कार्यक्रम गर्दै आएको जानकारी गराउँदै जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर विशेषज्ञसहितको स्वास्थ्य परीक्षण तथा उपचार गर्नेगरी बाआमासँग नगर प्रमुख कार्यक्रम शुरु गरिएको बताए ।
सर्ने राेगबाटभन्दा नसर्ने राेगबाट नगरवासी बढी पिडित रहेको भन्दै उनलेे समाजमा लुकेर रहेका राेग तथा बिरामीहरूकाे पहिचान र उपचारका लागि शिविर उपयोगी हुने विश्वास ब्यक्त गरे ।
बुटवल उपमहानगरपालिका वडा न १ वडा अध्यक्ष नरेन्द्र बस्नेतले वडावासी जोसुकैले पनि औषधि खान नपाएर अकालमा ज्यान गुमाउन नपराेस भन्ने उदेश्यले शिविर सञ्चालन गरिएको भन्दै शिविरबाट लाभ लिन वडावासीलाई आग्रह गरे ।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली , खत्री नर्सिङ होमका प्रमुख डा. डि.बी. खत्रीलगायतले उमेर बढ्दै गएपछि स्वास्थ्य र खानपिनमा त्यति नदिने प्रबृत्ति रहेको भन्दै उमेर बढ्दैमा अब केही गर्न सकिदैन भन्ने मानसिकता त्यागेर सकेसम्म काममा क्रियाशील हुनु राम्रो हुने सुझाव दिए ।
बिगतका बर्षमा सञ्चालन गरिएका शिविर मार्फत समाजमा लुकेर रहेका राेग र विरामीहरूकाे पहिचान हुनुका साथै धेरैले उपचार गरेर स्वास्थ्य लाभ लिएको स्मरण गर्दै उनिहरूले राेग लुकाएर नभई उपचार गरेर निकाे पार्नुपर्नेमा जाेड दिए ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली , खत्री नर्सीङ होमका प्रमुख तथा फेमिली फिजिसियन डा.डि.बी. खत्री,अर्का फेमिली फिजिसियन डा.सुनिल सुनारलगायतका विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण तथा उपचार गर्ने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
स्थानीय सरकारले ज्येष्ठ नागरिक,अपाङ्गता, असहाय र अस्पतालमा गएर औषधि उपचार गर्न नसक्नेहरुका समस्यालाई बुझेर विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेकोमा स्थानीयबासी निकै खुशी देखिएका थिए ।
२०८० माघ २३ गते बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठक सहितको टोलि बुटवल १२ तामनगर प्रगती टोलकी ११० वर्षीय ऐरावती बरईको घरमै पुगेर स्वास्थ्य परीक्षण गरी बा आमा सँग नगरप्रमुख कार्यक्रम शुरु गरिएको थियो । त्यसपछि बुटवलका सबै वडामा यो कार्यक्रम सम्पन्न भएको थियो ।
बा आमासंग नगरप्रमुख स्वास्थ्य कार्यक्रम अन्तर्गत बा आमासंग नगरप्रमुख निशुल्क स्वास्थ्य जाच तथा उपचार शिविर यसअघि जस्तै नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।








