काठमाडौँ.६ पुस ।
जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावनामाथि धोका दिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ढुंगाना समूहले विभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो । भोलिदेखि आन्दोलनको घोषणा गरेको यो समूहले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ ।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताए ।
‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ उनले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् ।आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’
सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने उनले बताए ।
‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ ढुंगानाले भने ।
आन्दोलनकारीहरूले मुख्यतया निम्न मागहरू अघि सारेका छन् :
संवैधानिक सुधार र संविधान पुनर्लेखन: राज्यको पुनःसंरचना र राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन गर्नुपर्ने ।
न्यायिक सुधार: भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ गठन र अदालतका फैसलाहरूको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने ।
आन्दोलनकारीको रिहाइ र न्याय: अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको उपचार तथा शहीद परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी ।
मताधिकार र एनआरएन नीति: विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिलाई व्यवहारमा उतार्नुपर्ने ।
पीडितको न्याय: मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था ।









