रोल्पा,६ पुस ।
आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा राेल्पाकाे रून्टीगढी गाउँपालिका-५ जस्पुर बस्ने ४८ वर्षीय अमराज दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आफ्नै ५२ वर्षीया श्रीमती रीमा परियारको हत्या गरेको अभियाेगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमराजकाे कुटपिटबाट रीमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी रीमाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।