काठमाडौ,६ पुस ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

नवलपरासी पश्‍चिमको सुनवल नगरपालिका-१ सुनवल चोकस्थित सडकमा लु.१ ख ७३८१ नम्बरको माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही सुनवल नगरपालिका-१२ प्रतापपुर बस्ने २१ वर्षीया मनिषा क्षेत्री रहेकी छिन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रोबस चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिन नारायणगढ सडकमा प्रदेश २-०३- ००१ ख ४४२७ नम्बरको ट्रकले लु-प्र-०१-००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका-८ घर भएका ३२ वर्षीय अनिष नेपाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियाक जंगलस्थित सडकमा प्रदेश १-०२-०५१ प ३७५५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय सुसान्त राज ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सडकमा प्र-१-०५०-०१ प १७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका-१ डाँडाछाप बस्ने ५५ वर्षीय पदम बहादुर खड्का रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरि मोरङको सुन्दरहरैँचा नगरपालिका-१ पचाम चोकस्थित सडकमा को.३६ प ५०९५ नम्बरको स्कुटर बाँस बोकेको साइकलसँग ठोकिएर दुर्घटना हुँदा स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका-१२ बस्ने ६४ वर्षीया जिवन कुमारी श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले साइकलयात्रीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।