बुटवल,५ पुस ।
श्रम संस्कृति पार्टीका संयोजक हर्कराज साम्पाङले देशको विकास र समृद्धिका लागि श्रम गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताएका छन् ।

विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनलेे विकास र समृद्धिका लागि कम्तीमा पनि हप्ताको एकदिन देशका लागि श्रम गर्नुपर्नेमा जाेड दिए ।

शनिबार बुटवलमा आयोजित पार्टीकाे लुम्बिनी प्रदेश स्तरीय सभामा संयोजक साम्पाङले विदेशी ऋण लिएर देशको विकास नहुने भन्दै हप्तामा एक दिन देशका लागि श्रम गर्नु पर्ने बताएका हुन् ।

छिमेकी राष्ट्र चीन, जापान, कोरिया श्रमबाटै धनि बनेको बताउँदै उनलेे देशको विकासका लागि सबैले देशका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।  

साना देखि ठूला आयोजनाका लागि विदेशबाट ऋण लिएर काम गर्नुपर्ने अवस्थाका कारण विदेशीले हेप्ने गरेको बताउँदै धरान उपमहानगरका मेयर समेत रहेका साम्पाङले चुनाव जितेर सरकारको नेतृत्व गर्ने अवसर पाए एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी बन्न तयार भएको बताए ।

‘सानो सडक, पुल, खानेपानी जे सुकै बनाउन पनि विदेशीसंग ऋण माग्ने परिपाटीले नेपाल माग्नेहरुको देश भन्ने छाप परेको छ,’ उनलेे भने, ‘यही कारण विदेशी हस्तक्षेप बढेको छ, राष्ट्रियता कमजोर बनेको छ ।’

उनले गफ गरेर र विदेशबाट ऋण ल्याएर मात्र देश बन्न नसक्ने भन्दै हप्तामा ६ दिन आफ्नो लागि र एकदिन देशको लागि श्रमदान गर्नुपर्नेमा जाेड दिए ।

‘नेपालमा गफ गरेर दिन बिताउने, परिवारको एकजनाले काम गर्ने अरु बसेर खाने परपाटी छ, सबैले काम गर्नु पर्छ,एक जनाको कमाईले हुँदैन,’ साम्पाङले भने ।