परासी,५ पुस ।
पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध मोबाइल पार्टस बरामद भएको छ । सशस्त्र प्रहरीले सनिवार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नेपाल-भारत सीमा नजिकबाट करिब १७ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल २६ नं. गण बेलासपुर र सीमा सुरक्षा गुल्म महेशपुरको संयुक्त टोलीले पाल्हीनन्दन-५, सिसवागाउँमा चलाइएको ‘सरप्राइज’ अप्रेसनका क्रममा भारतबाट अवैध रूपमा भित्र्याइएका मोबाइलका कभर तथा टेम्पर्ड ग्लासहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय नवलपरासी पश्चिममा सशस्त्र प्रहरीले तस्करी विरुद्धको अभियानलाई तीव्र पारेको छ । सशस्त्र प्रहरी बल २६ नं. गणका अनुसार गएको एक साताभित्र मात्रै इलेक्ट्रोनिक सिगरेट (भेप), कफीका दाना, मोबाइल पार्टस् लगायतका झण्डै ९० लाख रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरी भन्सार बुझाइएको छ ।

भारतीय सीमा नाकाबाट हुने नियमित तस्करीमा प्रहरीले कडाइ गरेपछि स्थानीय वैधानिक व्यापारीहरूले खुसी व्यक्त गरेका छन् । प्रहरीको सक्रियताले राजस्व चुहावट नियन्त्रण हुनुका साथै स्थानीय बजारमा हुने अस्वस्थ प्रतिस्पर्धामा कमी आउने ब्यवसायीकाे विश्वास छ ।