बुटवल,४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएपछि छुटेका छन् ।
उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १ करोड र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन् ।
त्यस बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए। ‘उच्च अदालतको आदेशअनुसार, बैंक जमानत बुझाएपछि छुट्नु भएको छ,’ अर्यालले भने ।
उनले एक करोड धरौटी सुरुमै थुनछेक आदेश हुँदा बुझाइसकेका थिए। पौने ३ करोड बैंक जमानत पनि उनले यसअघि निवेदन साथ पेश गरिसकेका थिए ।
बिहीबारको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार, कागज गरेर उनी शुक्रबार साँझ रिहा भएका हुन् ।
उनलाई अदालतमा उच्च अदालतको आदेश अनुसारका सर्तमा कागज गराइएको छ । उच्च अदालतले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने, यो मुद्दामा फैसला हुँदा थप दायित्व सिर्जना भएको अवस्थामा त्यसलाई स्वीकार गर्ने र तिर्ने लगायत सर्त राखेको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताएका छन् ।
जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ बाँकी नै रहेको बताएका हुन् । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ,’ उनले भने, ‘मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ ।’
उनले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको बताएका छन् । ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला,’ समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’
उनले धेरै बोल्ने समय आउन बाँकी रहेको जिकिर गरेका छन् । ‘म आसा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला । धेरै कुरा भन्न बाँकी छ ।’
लामिछानेले आफूलाई साथ दिन सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद दिन्छु ।’
उनले चाँडै धेरै करा बोल्ने बताएका छन् । लामिछानले भने, ‘आजलाई यत्ति, धेरै बोल्ने दिन आउँदै छ ।’
जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएपछि छुटेका उनी चितवनतिर लागेका छन् । शनिबार चितवनमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।








