बुटवल,३ पुस ।
अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु भएको बताएका छन् । राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नभएको उनको भनाइ छ ।
बिहीबार रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उमुद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई अर्को दुर्घटनामा पार्नु भएको बताए ।
उनले सरकार निर्वाचनको वातावरण बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दलहरूलाई आग्रह गरे ।
अहिलेको संकट समाधान गर्न निर्धारित समयमै निर्वाचन गर्नुको विकल्प नभएको भन्दै उनलेे सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा लागेको दाबी गरे ।
अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो ।’ उनले भने–‘अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन् ।’ उनले बुटवल पहिलेबाट औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताए ।
पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकता दिएर अघि बढाउनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्त प्रदर्शनीले प्रवद्धन हुने बताए ।
बुटवलका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राखेका थिए ।
आज पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादन भएका सामग्री मात्र रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।
संघका महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले,प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीलगायतले प्रदर्शनीकाे उदेश्य र महत्व बारे आ आफ्नो भनाइ राखेका थिए ।








