बुटवल,२ पुस ।
बैदेशीक रोजगारीका कममा ज्यान गुमाएका श्रमिकहरूकाे सम्झनामा बुधबार बेलुका बुटवलमा दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
विश्व आप्रवाशन दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तर्गत राेजगार शाखाको आयोजनामा उपमहानगरपालिकाकाे प्रवेशद्वार अगाडि दीपप्रज्वलन गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर विदेश गएका श्रमिकहरू सुरक्षित रुपमा घर फर्किन नसक्नु र पराई देशमा कडा परिश्रम गर्दागर्दै ज्यान गुमाउनु दुखद भएको भन्दै उनिहरूकाे सम्झना र सम्मान स्वरूप दीपप्रज्वलन गरिएको बताए ।
यस बुटवल उपमहानगरपालिकाबाट बैदेशिक रोजगारीमा गई ज्यान गुमाएका श्रमिकहरूकाे याेगदानप्रति उच्च सम्मान ब्यक्त गर्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका सधैं पीडितकाे साथमा रहने र सक्दाे सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
साे अवसरमा आप्रबाशन सञ्जालका सदस्ययहरू,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बुटवल उपमहानगरपालिकाका मजदुरहरूकाे सहभागीता रहेको राेजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।








