बुटवल,२९ मंसिर ।
नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे सभापतिमा पुन: खिमबहादुर हमाललाई चयन भएका छन् । साेमबार बुटवलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले हमालकाे नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्यसमितिकाे सदस्यहरुमा विना न्याैपाने, बाबुराम बिक, प्रजापाल गिरी, गुणनिधी खनाल, तेजनारायण अर्याल, पुनम पाैडेल, ईन्दिरा पाण्डे, मुक्तिराज पाैडेल, भगवता वेलवासे, निमा थारु, उमा थापा, रमेश पराजुली र शैलेका पन्तलाई सर्वसम्मत चयन गरिएकाे निर्वाचन समिति संयाेजक महेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यसमितिमा महिला सहित २ उपाध्यक्ष, महासचिव, काेषाध्यक्ष, सहकाेषाध्यक्ष र सहसचिव नवनिर्वाचित कार्यसमितिकाे बैठकबाट निर्वाचित सदस्यबाट मनाेनित गर्ने बैधानिक व्यवस्था छ ।
अधिवेशनको उद्घाटनमा संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरेले क्यान्सर रोग नियन्त्रण, रोकथाम र जनचेतना अभिवृद्धिमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

२०५३ सालमा स्थापना भएको संस्थाले क्यान्सर रोगलाई समाजका लागि गम्भीर चुनौतीका रूपमा लिँदै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराए । उनका अनुसार अघिल्लाे वर्ष मात्रै रुपन्देहीमा ८२१ जना क्यान्सर राेगी थपिएका छन् । याे जिल्ला जनस्वास्थ्य कार्यालयकाे तथ्यांक हाे ।

क्यान्सर रोगको रोकथाम, समयमै पहिचान र उपचारबारे नागरिकलाई सचेत बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे पनि उनले बताए ।

अधिवेशनले आगामी दिनमा जनचेतनासँगै उपचारात्मक क्षेत्रलाई समेत सशक्त बनाउँदै लैजाने, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य विस्तार गर्ने र कार्यक्रम निर्माणमा विज्ञहरूको सहभागिता बढाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा संस्थका अध्यक्ष हमालले प्रस्तुत गर्नुभएकाे अध्यक्षकाे प्रतिवेदन र काेषाध्यक्ष चाेलाप्रसाद पाठकले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेकाे छ ।

कार्यक्रममा संस्थाका आजिवन सदस्यह तथा सल्लाहकाहरु निर्मलप्रसाद लाकाैल, डा. राेहितराज क्षेत्री, लाउन्स डिष्ट्रिकका निवर्तमान गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, संस्थाका उपाध्यक्ष विना न्याैपाने, महासचिव प्रजापाल गिरी लगायतले भनाई सहित दायरा बढाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।