बुटवल,२९ मंसिर ।
बुटवल उपमहानरपालिका वडा नम्बर १० मा स्थित कालिका मानवज्ञान मा.वि.को ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस २ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

वार्षिकोत्सवकाे अवसरमा विभिन्न खेलकुद तथा जिल्लास्तरीय कालिका कप प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले सोमबार सेक्टर २ रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवकाे अवसरमा आन्तरिक तथा जिल्लास्तरीय कालिका कप प्रतियोगिताकाे तयारी भइरहेको जानकारी गराएको हो ।

किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उदेश्यका साथ “शिक्षासँगै खेल” भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गरिएकाे विद्यालयले जनाएको छ ।

पुष २ गतेदेखि कालिका मानवज्ञान माध्यमिक विद्यालयमा “जिल्लास्तरीय कालिका रनिङ शिल्ड” प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामी तथा प्रधानाध्यापक घनश्याम पाठकको पहलमा वि.सं.२०७६ सालमा “नगरस्तरीय कालिका रनिङ शिल्ड” प्रतियोगिता सुरुवात भएको थियो ।

कालिका कप खेलकुद प्रतियोगिता–२०८२ मा भलिबल (छात्र/छात्रा) र कबड्डी (छात्र/छात्रा) जिल्ला स्तरिय प्रतियोगीता आयोजना हुने छ । जसमा भलिबल र कबड्डी बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । यस्तै द्धितिय हुने टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

यस्तै जिल्ला स्तरीय कालिका कप अर्न्तर्गत कबड्डी प्रतियोगीतामा पनि सोही अनुसारको पुरस्कार व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । कालिका कपसहित बार्षिक उत्सव उद्घाटन कार्यक्रम कालिकानगरमा बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुदैछ । वार्षिकोत्सबकै अवसरमा पाैष १ गते खेलाडीहरुको मार्चपास, झाँकी तथा करिब ६००० विद्यार्थीहरुको पि.टी. प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै विद्यालयको ६५ औ बार्षिकाेत्सवकाे अवसरमा पौष १ गते जिल्ला स्तरीय कालिका कप २०८२ समुद्घाटन समारोह,पौष २–५ सम्म भलिबल तथा कबड्डी (छात्र/छात्रा) प्रतियोगिता, पौष ४ गते स्व. शेर बहादुर गुरुङ्ग स्मृति अक्षयकोष जिल्ला स्तरीय कविता प्रतियोगिता, पौष ४ स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आइडल प्रतियोगिता, पौष ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान, पौष ६ गते अन्तर विद्यालय ५००० मिटर दौड प्रतियोगिता (बिहान ६ बजे ), पौष ७ मूल समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललितकला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रम आयोजना हुने जनाइएको छ ।

खेल विधालाई अभिन्न अंगको रुपमा योजनावद्व रूपमा सञ्चालन गर्दा विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने गरी काम गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । उनले भने–‘ यस कार्यले प्रमाणित गरेको छ । जसले यस विद्यालयको मात्रै नभई समग्र जिल्लाबासीकै खेलप्रतिको रुचि र लगावमा विकास भएको छ ’ कालिका मानवज्ञामाविमा वि.सं. २०७६ सालमा १४÷१४ ओटा स्वर्ण, कास्य र रजत पदकबाट स्थापित यो रनिङ शिल्ड वि.सं. २०७८ मा आइपुग्दा १६÷१६ पदक, २०७९ मा २४÷२४ र हाल आएर ३२÷३२ पदकमा यसले आफुलाई वृद्धि गर्दै लगेको छ ।’

वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२ ओटा विद्यालय, वि.सं. २०७८ मा ३२ ओटा विद्यालय, वि.सं. २०७९ मा ४९ ओटा विद्यालय, २०८० सालमा २७ ओटा विद्यालय र २०८१ सालमा २६ ओटा विद्यालय संलग्न रहेका थिए ।

विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको विद्यालयले जनाएको छ । यहाँ उत्पादित खेलाडीहरुले “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधाहरु जस्तै कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।
यसै गरी गण्डकी प्रदेशमा सञ्चालित “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा यस विद्यालयका सलिम देवानले एथलेटिक्सको लङ्जम्पतर्फ आफ्नाे नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।

यसैगरी कबड्डी छात्रतर्फ सतिस कुर्मी, राहुल अर्याल, अमित राजभार, मुवारक मियाले स्वर्ण पदक प्राप्त गरेको थिए । यसैगरी कबड्डी छात्रातर्फ आर्जु क्षेत्री र सुजाता बुढाथोकीले पनि सहभागिता जनाएका थिए । यस्तै त्यक्वान्दाेतर्फ यसै विद्यालयकी रुपा बुढाथोकीले रजत पदक प्राप्त गर्न सफल भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा यस विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको र उनीहरुले महत्वपूर्ण उपलब्धि भएको विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिका मानवज्ञान माविको शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र अभिभावकहरुको साझा पहल रहेको बताए ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार, विद्यालयका पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामी, विद्यालयका सहायक प्रधानाध्यापक विष्णु हरी ज्ञवाली र पिताम्बर बन्जाडेसहित विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, ईन्चार्ज, शिक्षक, प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।