एक महिलाको बेवारिसे अवस्थामा शव फेला
बुटवल,२९ मंसिर ।
रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाकाे रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।
घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताए ।








