बुटवल,२८ मंसिर ।
बुटवलमा आइतबारदेखि अन्तरविद्यालय स्तरीय छात्रछात्र कवड्डी प्रतियोगिता २०८२ सुरु भएको छ । बुटवल नगर खेलुकद समितिको आयोजनमा भइएको कवड्डी प्रतियोगिता यही पुस १ गतेसम्म संचालन हुने छ ।

प्रतियोगिताको आइतबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताए ।

विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदमा पनि अब्बल बनाउनका लागि बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विभिन्न खेलकुदका कार्यक्रम गर्दै आइरेको बताए । प्रमुख पाण्डेयले देशभरका स्थानीय तह मध्य सबै भन्दा बुटवल उपमहानगरपालिकाले बजेट विनियोजन गरेको दाबी गरे ।

यस्तै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले हरेक वर्ष वार्षिक कार्यतालिका बनाएर नै खेलकुदका कार्यक्रम गर्दै आइरेको बताए । सबै विद्यालयलाई बुटवलले संचालन गर्ने खेलकुदमा अनिवार्य रुपमा सहभागि हुन आग्रह गरे ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको नगर खेलकुद विकास समिति सदस्य शेरजंङ गुरुङले जानकारी दिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य
,निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल्सा अर्याल, महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन आज क्यानन मावि र अक्सफोर्ड माविबीचको प्रतिस्पर्धामा अक्सफोर्ड विजयी भएको छ भने कालिका मानवज्ञान मावि र लुम्बिनी शिक्षालयबीचको खेलमा कालिका मानवज्ञान विजयी भएको छ ।

यस्तै अन्नपूर्ण मावि र गार्गी माविबीचको प्रतिस्पर्धामा गार्गी विजयी भएको छ भने त्रिभुवन युनाइटेड मावि र नवीन औद्याेगिक माविबीचकाे प्रतिस्पर्धामा नवीन विजयी भएको छ ।

आजै सम्पन्न न्यु होराइजन मावि र इन्टलेक्चुअल माविबीचको प्रतिस्पर्धामा न्यु होराइजन विजयी भएको छ ।

भाेली साेमबार मणिमुकुन्द मावि र स्कलर्स हाेम,इडन बाेर्डिङ स्कुल र दीप बाेर्डिङ,नयाँगाउँ मावि र कान्ति मावि तथा समिट बाेर्डिङ स्कुल र अक्सफोर्ड माविबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।