पाल्पा,२७ मंसिर ।
पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पूर्वकाे मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विककाे घटनास्थलमै मृत्यु भएको थियो । सुन्दर र बुद्धीमाया श्रीमान् श्रीमती हुन् ।

शुक्रबार दिउँसोको पूर्वी पाल्पाको रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परी आठ यात्रु घाइते भएका थिए । घाइते हुनेमा १० वर्षीय लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनार सुन्दर र बुद्धीमायाका छोराछोरी रहेको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका–४, मित्याल लामेदमारका ७३ वर्षीय नरबहादुर सुनारी ७२ वर्षीय भूमीसरा सुनारी, मित्यालीकै २८ वर्षीय सुनारीको उपचार भइरहेको छ । मिनाकुमारीको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासीमा नरबहादुर र भुमिसराको उपचार भइरहेको छ । घाइते भएका निस्दी–४, मित्यालकै ९ वर्षीय नवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा उपचारपछि घर फर्किएका छन् ।

नवलपुरको महेन्द्र राजमार्गस्थित अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको अवस्थामा शुक्रबार फोर्स जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर टाढा भएको दुर्घटना कच्ची सडक उकालो भएको र जिपले तान्न नसकेपछि यात्रु ओराल्ने क्रममा जीप व्याक भएर दुर्घटना भएको जानकारी पाएको प्रहरीले जनाएको छ ।