बुटवल,२६ मंसिर ।
रूपन्देहीको देवदहमा संचालित एक मासु पसलमा कुहिएको मासु फेला परेको छ । जिल्लाकाे देवदह नगरपालिका वडा नं-५ खैरेनी स्थित सुपर समिर मासु पसलबाट कुहिएको मासु बरामद भएको हो ।

शुक्रवारे हाटबजार अनुगमन क्रममा त्यस क्षेत्रका मासु पसल पनि अनुगमन गर्दा कुहिएको मासु बरामद भएको नगरपालिकाका बजार अनुगमन समिति संयोजक कृष्ण प्रसाद अधिकारीले जानकरी दिए ।
अनुगमनका क्रममा फेला परेको ६ केजी सडेको मासु नष्ट गरिएको उनलेे बताए ।

उनका अनुसार फ्रीजमा राखिएको खसी/बाख्राको सडेको टाउको फेला परेको हो । सोही पसलमा यस अघिपनि सडेको खुट्टा भेटिएको र सजग गराइएको अधिकारीले जानकारी दिए ।

दोस्रो पटक पनि सडेको मासु फेला परेपछि पुनः सुध्रिने मौका दिएकाे भन्दै उनले यसपछि पनि त्यस्तो भेटिए आवश्यक कारवाही गरिने बताए ।

यसअघि देवदहकै शीतलनगरको सोमवारे हाट बजारमा अत्यधिक विषादीयुक्त रायोको साग फेला परेको थियो ।

यसैबीच नगरपालिकाले गर्ने अनुगमनको सूचना चुवाहट हुने र गलत कार्य गर्नेहरु बच्ने गरेको स्थानीयकाे गुनासो छ । उनले केही पसल विना दर्ता संचालन भएको र केही पसलमा मूल्यसूची नराखिएको पाइएको समेत बताए ।