बुटवल,२६ मंसिर ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री दलबहादुर रानाले पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएकाे घाेषणा गरेका छन् ।
महाधिवेशनको अघिल्लो दिन शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
पारिवारिक कारणले सक्रिय राजनीतिबाट बिदा लिएको भन्दै उनले एमालेको महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र महाधिवेशनमा पनि सहभागी नहुने जनाएका छन् ।
२०३५ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय भएका एमाले नेता राना २०७० सालमा भूमि सुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।
राना दुईपटक वडाध्यक्ष, दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संबिधानसभा सदस्य बनेका थिए ।
‘भोलीदेखि काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सक्रिय राजनीतिबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।’
लगभग ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा स्मरण गर्न सकेसम्म आफूले कुनै कार्यकर्तामाथि पूर्बाग्रहपूर्ण, दुरासयपूर्ण र अन्याय पूर्ण ब्यबहार नगरेको दाबी पनि उनले गरेका छन् ।
‘तथापि पार्टीको हितमा निर्णय लिनु पर्दा, कमिटी निर्णय पालन गर्ने गराउने क्रममा, कतिपय बेला प्राथमिकता निर्धारण गरेर निर्णय लिनु पर्ने अबस्था र निर्णयमा पुग्नुका सबै बिबरण पार्टी गोपनियताको कारणले जानकारी गराउन नमिलेको अबस्थाले कसैमाथि अन्याय भएको अनुभूत भएको छ भने म व्यक्तिगत रुपमा क्षेमा प्रार्थी छु,’ उनले लेखेका छन्,‘पार्टीको एघारौँ महाधिवेशन, नेकपा एमालेलाई वर्तमान देशको जटिल राजनीतिक परिस्थितिको सामना गर्न सक्ने निर्णायक राष्ट्रिय शक्तिको रुपमा पुन स्थापित गर्न, सक्षम नेतृत्व निर्माण गर्दै ऐतिहासिक र भब्य रुपमा सफल रहोस्, यही हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’
पूर्वी पाल्पाको रामपुर नगरपालिका वडा १ पुर्ख्र्यौली घर भएका राना हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० कपनमा बस्दै आएका छन् ।









