बुटवल,२४ मंसिर ।
नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) बहुविवाहकाे आराेपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय,नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल रहेका छन् ।

जेठी श्रीमती तारा खनाल नेपालको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई हिरासतमा लिएर बहुविवाह मुद्दामा अनुसन्धान सुरु गरेको हो । आफू बिरूद्व पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि प्रहरी नायव उपरीक्षक (डिएसपी) नेपाल आफै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उपस्थित भएकाे प्रहरीले जनाएको छ । उनलाई अदालतबाट तीन दिन थुनामा राख्न म्याद लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रहरी नायव उपरीक्षक नेपालले नेपाल प्रहरीमै कार्यरत असईसँग केही वर्षअघि विवाह गरेकाे आराेप छ । कान्छी श्रीमतीसँग बच्चा समेत भइसकेको खुलेपछि जेठी श्रीमतीले सुरुमा प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी थिइन् । पछि जाहेरी दिएकी हुन् । उनकी कान्छी श्रीमतीविरुद्ध पनि बहुबिवाह मुद्दाको जाहेरी परेको प्रहरीले जनाएको छ ।