बुटवल,२४ मंसिर ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नकारात्मक मानसिकता त्यागेर सकारात्मक साेँचकासाथ आफैंलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने अहिलेकाे आवश्यकता भएको बताएका छन् ।

बुधबार बुटवल स्थित बुटवल कालिका क्याम्पसकाे १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा मन्त्री तिमिल्सिनाले पछिल्लो समय सुचना प्रविधिको दुरुपयोग र नकारात्मक साेँच बढ्दै गएको भन्दै प्रविधिको दुरुपयोग र नकारात्मक मानसिकता त्यागेर समयको मागअनुसार आफुलाई रूपान्तरण गर्नु अहिलेकाे आवश्यकता भएको बताएका हुन् ।
सामाजिक विकास मन्त्रालयले शैक्षिक पूर्वाधार र प्रविधिको विकासलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री तिमिल्सिनाले त्यसका लागि मात्रै मन्त्रालयले सात करोड ९६ लाख रूपयाँ बिनियाेजन गरिएको जानकारी गराए ।
लुम्बिनी प्रदेशलाई शैक्षिक हबकाे रूपमा विकासका गर्न सकिने बताउँदै उनलेे त्यसको नेतृत्व बुटवलले लिनुपर्नेमा जाेड दिए । उनलेे लुम्बिनी प्रदेशलाई शैक्षिक हब बनाउने अभियान बुटवल कालिका क्याम्पसबाटै सुरुवात गर्नुपर्ने बताए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष हाेमबहादुर गलामीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,क्याम्पस प्रमुख घनश्याम पाठकलगायतले आ आफ्नो भनाइ राखेका थिए ।








