बुटवल,२३ मंसिर ।
सुशासन कायम गरि मुलुक समृद्ध बनाउन राजनीतिमा शुद्धीकरण जरुरी रहेकोमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
भ्रष्टाचार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा पारदर्शी सराेकार समूह बुटवलद्वारा मंगलबार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा बाेल्दै सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
कार्यक्रममा उच्च अदालत तुलसीपुर,बुटवल इजलासका रजिस्ट्रार अमित उप्रेती, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पाैडेल,पारदर्शी सराेकार समूहका केन्द्रीय सदस्य महेन्द्रनारायण श्रेष्ठ,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल, राष्ट्रिय मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख सन्तोष आचार्य,पारदर्शी सराेकार समूह बुटवलका निवर्तमान अध्यक्ष महेन्द्र पाण्डे,मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति अर्जुन ज्ञवाली,शिक्षक टिकाराम न्याैपानेलगायतले भ्रष्टाचार नियन्त्रण कुनै एक निकायकाे प्रयासले मात्रै सम्भव नहुने भन्दै त्यसका लागि सामुहिक पहल जरुरी रहेको बताए ।
मुलुकमा ब्याप्त भ्रष्टाचारकाे अन्त्य र सुशासन कायम गर्दै मुलुककाे समृद्धिका लागि जेनजी युवाहरूले आन्दोलन गरेको स्मरण गर्दै उनिहरूले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिमै शुद्धीकरण जरुरी रहेकोमा जाेड दिए ।
पारदर्शी सराेकार समूह बुटवलका अध्यक्ष लालहरी पाण्डेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दीपक ढकाल,सनु थापालगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए ।








