बुटवल,२३ मंसिर ।
रोट्याक्ट क्लव अफ बुटवलले बुटवलस्थित कालिका क्याम्पसलाई सेनेटरी प्याड मेसिन हस्तान्तरण गरेको छ ।

क्याम्पसको वार्षिक उत्सवको पूर्व संध्यामा क्लबको महिलाको स्वास्थ्य र स्वच्छता प्रवर्द्वन गर्ने उद्देश्यले क्याम्पसलाई सेनेटरी प्याड मेसिन हस्तान्तरण गरेको हो । क्लबको सामाजिक सेवा परियोजनाअन्तर्गत मंगलवार एक कार्यक्रमकाबीच क्याम्पस प्रशासनलाई उक्त मेसिन हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले क्लवले विभिन्न ४ वटा क्षेत्रका काम गदै आएको जानकारी गराउँदै क्लबको सामाजिक सेवा परियोजनाअन्तर्गत क्याम्पसलाई उक्त मेसिन हस्तान्तरण गरिएको बताए ।

क्याम्पसमा अध्ययनरत छात्राहरूका लागि सुरक्षित र सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उद्देश्यले क्लबले यो पहल थालेको बताउदै अध्यक्ष पराजुलीले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक कर्मसम्बन्धी सकारात्मक वातावरण निर्माणमा मेसिनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले रोट्याक्ट क्लबको योगदानप्रति धन्यवाद व्यक्त गर्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि यो मेसिन निकै उपयोगी हुने बताए । क्याम्पसमा यसअघि नै उक्त मेशिन रहेकोमा हाल विग्रीएको समयमा क्लवले मेशिन सहयोग गरेकोमा क्याम्पसको सरसफाइ र स्वास्थ्य सचेतना अभियानलाई थप बल पु¥र्याको उनको भनाइ थियो ।

रोट्याक्ट क्लब अफ बुटवलले आगामी दिनमा पनि यस्ता सामाजिक सेवा तथा स्वास्थ्यसम्बन्धी परियोजनालाई निरन्तरता दिने क्लवका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए ।

कार्यक्रममा कल्बका पदाधिकारी क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।