भ्रष्टाचार बिरूद्वकाे कदममा जाेसुकैसँग हात मिलाउने र भ्रष्टाचार गरेको थाहा पाए कठालाे समातेर सडकमा लतार्ने राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष सुर्यवंशीकाे चेतावनी
बुटवल,२३ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशी मगरले भ्रष्टाचार विरूद्वकाे कदममा जाेसुकैसँग पनि हात मिलाउने र भ्रष्टाचार गरे कठालाे समातेर सडकमा लतार्न पछि नपर्ने चेतावनी दिएका छन् ।

भ्रष्टाचार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीद्वारा मंगलबार बुटवलमा आयोजित भ्रष्टाचार विरूद्वकाे प्रदर्शन तथा खबरदारी सभालाई सम्बाेधन गर्दै अध्यक्ष सुर्यवंशीले भ्रष्टाचार विरूद्व पार्टीले जाेसँग पनि हात मिलाएर अगाडि बढ्न तयार रहेको र भ्रष्टाचार गरेको थाहा पाए त्यही हातले कठालाे समातेर सडकमा लतार्न पछि नपर्ने चेतावनी दिएका हुन् ।

सरकारलाई भ्रष्टाचार विरूद्व कडा रूपमा प्रस्तुत हुन आग्रह गर्दै उनलेे मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र मुलुककाे समृद्धिका लागि युवाहरूको विद्राेहकाे जगमा बनेको सरकार भएकोले यसलाई भ्रष्टाचार विरूद्वकाे कदमबाट पछाडि हट्ने छुट नभएको बताए ।

स्थापनाकालदेखि पार्टीले भ्रष्टाचार विरूद्व ससक्त रूपमा आवाज उठाउदै आएको भन्दै उनलेे भ्रष्टाचार विरोधी अभियानलाई अब संगठनात्मक र सञ्जालको रूपमा वडा तहसम्म विस्तार गर्ने पार्टीको योजना रहेको उल्लेख गरे ।

१६ बर्ष उमेर पुगेर नागरिकता प्राप्त गरेका युवाहरूलाई मतदानको अधिकार दिनुपर्ने भन्दै अध्यक्ष सुर्यवंशीले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत उम्मेदवारले प्राप्त गरेको मतलाईनै पार्टीको समानुपातिक मतमा गणना गर्ने ब्यवस्था मिलाउन बर्तमान सरकारसँग माग गरे ।
अध्यादेश मार्फत १६ बर्ष उमेर पुगेका युवालाई मतदानको अधिकार दिन सकिने भन्दै उनलेे प्रत्येक्ष र समानुपातिकका लागि छुट्टाछुट्टै मतपेटिका नराख्दा मात्रै १ अर्व रूपयाँ निर्वाचन खर्च कम हुने दाबी गरे ।

विदेशी दातृ निकायसँग ऋण लिएर बनाइएकाे भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुननसक्नु दुखद भएको भन्दै अध्यक्ष सुर्यवंशीले बर्तमान सरकारकाे दृढ इक्षाशक्ति भए यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउन सकिने बताए ।
राज्यले चलाउन नसकेको कृषि औजार कारखाना चलाउन सफल वैज्ञानिक डा महावीर पुन शिक्षा मन्त्री हुन नसुहाउने भन्दै उनलेे पुनलाई शिक्षा मन्त्री नभएर उद्योग मन्त्री बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिए ।

राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव माेजिव अली,केन्द्रीय सदस्य मधु राना, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङ,रूपन्देही जिल्ला उपाध्यक्ष थर्क बारघरे,जिल्ला सचिव खेमबहादुर सुनारी मगरलगायतले भ्रष्टाचार विराेधी अभियानको जगमा बनेको बर्तमान सरकार भ्रष्टाचार विरूद्व कडा रूपमा प्रस्तुत हुनुपर्नेमा जाेड दिए ।

भ्रष्टाचार विरूद्व राज्य कठाेर रूपमा प्रस्तुत नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनिहरूले राज्यकाे जिम्मेवार निकायमा पुगेका राजनीतिक नेतृत्व तथा सबै उच्च पदस्थ कर्मचारीकाे सम्पत्ति छानबिन गर्न माग गरे ।

यसअघि बुटवलको राजमार्ग चाैराह स्थित लखनचाेकबाट सुरु भएको भ्रष्टाचार बिराेधी जुलुस मिलनचाेक,बसपार्क,अस्पताललाइन,ट्राफिक चाेक, पाल्पाराेड हुँदै पुन ट्राफिक चाेकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलसहित राजधानी काठमाडौ र देशका प्रमुख शहरहरूमा आजदेखि दाेस्राे चरणको भ्रष्टाचार विरोधी हस्ताक्षर अभियान सुरूवात गरेको पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।