काठमाडौँ,२२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबिचकाे वार्ता जारी छ । नागरिक बचाउ दलका संरक्षक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग वार्ता भएको बताइएको छ ।
दिउँसो ३ बजेदेखि सिंहदरबारमा भएको वार्ता अझै जारी रहेको हो । प्रधानमन्त्री कार्कीसहित सरकारी वार्ता टोलीमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन् । यसअघि प्रसाईंको समूहले सरकारसँग प्रस्तुत गरेको २७ बुँदे माग पत्रमा नेपालको वर्तमान संविधानलाई पूर्ण रुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरू समावेश थिए ।
धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्त्वहरूको नियन्त्रण गर्ने, तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू पनि प्रसाईंका माग रहेका छन् । यी मागहरू गत मङ्सिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रसाईंले बुझाएका थिए ।
वार्ताका लागि सिंहदरबार प्रवेश गर्ने क्रममा संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रसाईंले वार्ता असफल भए चुनाव हुन नदिने चेतावनी दिएका थिए ।






