काठमाडौं,२२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंबिच आज वार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर २२ गते वार्तामा आउन भनेका थिए ।

यसअघि प्रसाईंले १२ मंसिरमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग सिंहदरबारमा वार्ता गरेका थिए । सो वार्तामा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए । त्यस क्रममा प्रसाईंले प्रधानमन्त्रीलाई भेटेर आफ्ना भनाइ राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

सरकार र प्रसाईंबीच वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्दै आएका छन् ।

प्रधानमन्त्री कार्की र महाअभियानका संयोजक दुर्गा प्रसाईंबिच वार्ताको तयारी भइरहदा वार्तालाई थप दबाब दिन महाअभियानले आज देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्नाकाे आयोजना गरेको छ ।